राजनीतिको आवरणमा अपराध: पूर्वमन्त्रीदेखि दलका नेतासम्म

तस्बिरः बिएल

उच्च अदालत वीरगन्जले शुक्रबार तत्कालीन नेकपा एमालेका पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहालाई आजीवन काराबासको फैशला सुनायो।

२०७३ वैसाख ५ गते बारा जिल्ला अदालते १० वर्ष कैद सजाय सुनाएको उनलाई शुक्रबार न्यायाधीश डिल्लीराज आचार्य र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उक्त फैशला सुनाएको हो।

जिल्ला अदालतको फैसला चित्न नबुझैपछि कुसुवा उच्च अदालत पुगेका थिए। अदालतले आफ्नै पार्टीको भातृ संगठन मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलमलाई हत्या गरेको पुष्टी भएपछि आजीवन काराबासको फैसला सुनाएको हो।

महमुद आलमको हत्या २०७० असोज १८ गते भएको थियो। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट उम्मेदवारसमेत रहेका आलम तत्कालीन एमाले नेता थिए।

उनको हत्यामा संलग्न भनिएका प्यासी पनि एमालेबाटै पहिलो संविधानसभामा समानुपातिक सांसद हुन्। प्यासीको टिकट काटेर आलमलाई दिइएको थियो। टिकट नपाएको झोकमा कुसुवाले आलमको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।

राजनीतिक दलमा लागेका नेताहरू जघन्य अपराधमा लागेका घटना धेरै छन्। पूर्वमन्त्री तथा पहिलो संविधानसभाका सभासद श्यामसुन्दर गुप्ता पनि पटक पटक जेल पर्दै आएका छन्। २०६७ साल पुस ७ गते  व्यवसायी पवन संघाइलाई अपहरण गरेको विषयमा पहिलो पटक उनी पक्राउ परेका थिए।

त्यसपछि एक महिलालाई धम्की दिएर ५० लाख रूपैयाँ मागेको उजुरीको आधारमा दोस्रो पटक पक्राउ परे।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम पनि अपराधिक घटनासँग जोडिएका व्यक्ति हुन्।

पहिलो संविधानसभामा रौतहट क्षेत्र नम्बर २ बाट विजयी उनीमाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाउन लागेको अभियोग लागेको थियो।

२०६९ साल वैशाख १८ गते जनकपुरमा बम विष्फोट गराउने मुख्य योजनाकारको रुपमा सञ्जय साह प्रहरी नियन्त्रणमा परे।

२०६३ सालपछि सदभावना पार्टीको उपाध्यक्षसँगै पहिलो संविधानसभामा सभासद र मन्त्रीसमेत भएका सञ्जयकुमार उनकै योजनामा विष्फोटमा ५ जनाको मृत्यु भएको थियो। घटनामा ३० जना भन्दा बढी घाइते भएका थिए।

प्रहरीले घटना भएको दुई वर्षपछि तत्कालीन सभासद् शाहलाई पक्राउ गर्‍यो।

राजनीतिक करियरको सुरूवातदेखिनै विवादमा आएका मेघबहादुर थापाको राजनीतिक अपराध पनि छताछुल्ल भएको छ।

चुरेभावर राष्ट्रिय एकता पार्टीका उपाध्यक्ष बाबु थापा भनिने सर्लाहीका मेघबहादुर थापा न्यायाधीश रणबहादुर बमको हत्यामा अहिले कैद सजाय भुक्तान गरिरहेका छन्।

न्यायाधीश रणबहादुर बमको उनले २०६९ साल जेठ ८ गते गोली हानी हत्या गरेका थिए। हत्या भएको अढाई वर्षपछि घटनाको मुख्य योजनाकारको रुपमा २०७१ साल पुस १० गते थापा पक्राउ परे।

आफ्नो पक्षमा न्यायाधीश बमले फैसला नगरेको भन्दै थापाले हत्या गरेको अनुसन्धानमा देखिएको थियो।

प्रकाशित मिति: : 2019-05-03 17:28:08

प्रतिकृया दिनुहोस्