रुख कटानले कुरुप बन्दै इटहरी(फोटोसहित)

इटहरी चोकमा काटिएका रुखहरु।तस्बिर : हिमाल दाहाल

इटहरी : सुनसरीको इटहरी चोक पूर्वमै हरियाली चोकको रुपमा चिनिन्छ।हरियालीले इटहरी चोकलाई सुन्दर बनाएको छ ।तर सडक विस्तारको क्रममा रुख कटान हुँदा नगरको सौन्दर्य गुम्दै गएको छ।

बुधबारदेखि कोशी राजमार्ग छेउमा हुर्किएका अशोकका रुखहरु काट्न थालिएको छ। सो क्रममा सडक किनारमा यात्रुलाई शीतलता प्रदान गर्ने अन्य रुखहरु पनि काट्न थालिएको छ। यसअघि पनि कोशी र महेन्द्र राजमार्ग छेउका रुखहरु काटिएका थिए।

यसरी रुख काट्दा नगरको सौन्दर्य हराउने मात्र नभई बटुवा र सडक मजदुरले शीतल छहारीबाट बञ्चित भएको गुनासो गरेका छन्। धरान रोडमा बसेर जुत्ता सिउँदै आएका वकिल हरिजनले रुख कटान हुँदा शीतल छहारी पनि हराएको बताए।'रुखको मुनी बसेर जुत्ता सिउँथ्यौं, अब कहाँ बस्ने?' उनले भने, 'रुख नकाटी सडक विस्तार गरेको भए राम्रो हुनेथियो।'

सडक छेउमा रुखको छहारीमा बसेर दैनिक जुत्ता सिउने, फलफूल बेच्ने तथा अन्य साना व्यवसायहरुले निकै समस्या भएको गुनासो गरेका छन्। यस्तै उदयपुरबाट काम विशेषले इटहरी आएका मेघराज दाहालले पनि रुख कटानी हुँदा इटहरीको सुन्दरता हराएको प्रतिक्रिया दिए। 'छहारी हुन्थ्यो, राम्रो देखिन्थ्यो, अब त्यो सुन्दरता गुम्ने भयो,' उनले भने, 'रुख नकाटेको भए हुन्थ्यो।'

प्रकाशित मिति: : 2019-05-03 00:33:31

प्रतिकृया दिनुहोस्