धोनी फर्किएको खेलमा चेन्नईसँग दिल्लीको फराकिलो हार

तस्बिरः एजेन्सी

दिल्ली क्यापिटल्सलाई फराकिलो अन्तरमा हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ।

लिगको ५० औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले हराउँदै फराकिलो जितसहित शीर्ष स्थानमा उक्लिएको हो।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा सबै विकेट गुमाउँदै  ९९ रनमा समेटियो।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४४ रन बनाउँदा ओपनर शिखर धवनले १९ रन बनाए। बाँकी ९ खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिँदा रविन्द्र जडेजाले ३ विकेट लिए।

यसअघि घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो।

चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे। रैनाले ३७ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए। चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट ब्याटिङ गरे। धोनीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे । उनी यसअघिको खेलमा अस्वस्थ भएककाले मैदानमा खेलेका थिएनन्।

अन्तिम ओभरमा धोनीले ट्रेन्ट बोल्टलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे। अर्का ओपनर शेन वाटशन शून्यमा पेभिलिएन फर्किए । तल्लोक्रममा रविन्द्र जडेजाले १० बलमा समान २ चौका र छक्का सहित आक्रमक रुपमा २५ रन जोडे । आम्बाती रायडु ५ रनमा अविजित रहे ।

दिल्लीका लागि जगदीश सुचितले २,क्रिस मोरिस र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।

आजको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा बसेका थिए। टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भने पनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको थियो। सन्दीपको स्थानमा क्रिस मोरिसलाई खेलाएको थियो। मोरिसले ४७ रन खर्चिएर १ विकेट लिएका थिए।

यो जितसँगै चेन्नईको १३ खेलबाट १८ अंक भएको छ। साथै शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने चेन्नईको सम्भावना बलियो भएको छ। समान खेलबाट १६ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-05-01 23:35:45

प्रतिकृया दिनुहोस्