इन्धन चोरी गर्ने ड्राइभरलाई जेल, नेताका ट्यांकरलाई संरक्षण

तस्बिरः नयाँ पत्रिका

हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण फैसला नहुन्जेल पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुर मुद्दा फाँटका प्रहरी निरीक्षक सागर राणाले जानकारी दिए ।  

प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले १ वैशाख बिहान १० बजे ना.४ख ०१७७ नम्बरको ट्यांकरबाट तेल चोर्दै गरेको अवस्थामा तीनजनालाई रंगेहात पक्राउ गरेको थियो । ट्यांकरको माथिल्लो भागमा रहेको ढकन खोली पाइप छिराएर ६० लिटर तेल झिकिसकेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई चोरी मुद्दा लगाएर प्रहरीले जिल्ला अदालतमा पेस गरेको हो । रंगेहात पक्राउ परेका कारण तीनैजनालाई जेल सजाय हुने सक्ने प्रहरीको भनाइ छ । चालक गुरुङले साथीहरूसँग मिलेर आधुनिक लकिङ जडान गरेको ट्यांकरबाट तेल चोरी गरेका थिए । उनले चोरी गरेको तेल हेटौँडाका पेट्रोलपम्प व्यवसायीले खरिद गर्दै आएका छन् ।

प्रकाशित मिति: : 2019-04-30 09:33:17

प्रतिकृया दिनुहोस्