अनि म सत्यमोहन भएँ...

तस्बिरः नागरिक

उनको छेउमा उभिन्छु। उनी कुर्सीबाट उठ्छन्। महसुस गर्दैछु विस्तारै एउटा हार्दिकताले छोपिएको सूर्योदय भइरहेको छ। अत्यन्तै न्यानो र प्रिय।

‘नागरिक नायक’ सत्यमोहन जोशीलाई उनी बसेको कुर्सीबाट बिस्तारै मञ्चतर्फ डो-याउँदै गर्दाको सुखद् अनुभूतिको कुनै सीमा रहँदैन। एउटा सिंगो शताब्दीसँगै म पाइला चाल्न थाल्छु। घडीको टिक–टिक–टिकजस्तै। ‘म समय हुँ,’ मनमा यस्तै तरंग छन्। म समयसँगै हिँडिरहेको छु।

महिनाका हिसाबले शतायुमा प्रवेश गरेका छन् सत्यमोहन। यही वैशाख ३० गतेदेखि उनको परिचय फेरिने छ। यथार्थमै शताब्दी पुरुष। हामीले लेख्न थाल्ने छौं– सत्यमोहन जोशी, १००।

कुर्सीबाट उनी उठेपछि हात दिन्छु। त्यसपछि उनको पाखुरामा बिस्तारै आफ्नो हात राखेर अघि बढ्न थाल्छु। अहो, कस्तो सुखद् अनुभूति ! फूलजस्तै नरम। आशीर्वादले भरिएको छ त्यो क्षण।

उनलाई मञ्चमा पु-याउँदानपु-याउँदै पाटन कृष्ण मन्दिरको डबलीमा भेला भएका पाहुनाहरू एकैसाथ उभिन्छन्। एउटा समर्पणका निम्ति त्यहाँ सम्मान भइरहेको छ। एउटा सिंगो युग अभिनन्दित भइरहेको छ। मन्दिरमा आरति चलिरहेको छ। सफा र स्निग्ध साँझ। रंगीविरंगी उज्यालोले पाटन दरबार स्क्वायर छपक्क भएको छ।  एउटा मीठो सपनाजस्तो त्यो क्षण मनमा आइरहेको छ।

माइक उनको हातमा राख्छु। अर्को आफूले लिएर भन्छु– सय वर्ष पुगेपछि मानिस देवता हुन्छ। हामीकहाँ मानिसहरू यसै भन्छन्।

प्रकाशित मिति: : 2019-04-27 13:22:35

प्रतिकृया दिनुहोस्