नेपालमा बढ्यो बेरोजगारी : ११.४ प्रतिशत नेपाली बेरोजगार

नेपालमा बेरोजगारको संख्या नौलाख आठ हजार पुगेको छ। यो संख्या कुल कामकाजी नेपालीमध्ये ११.४ प्रतिशत हो। 

केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको पछिल्लो विवरणअनुसार पाँच लाख ११ हजार पुरूष र तीन लाख ९७ हजार महिला बेरोजगार छन्।

नेपालबाट लाखौंको संख्यामा वैदेशिक रोजगारीमा छन्। उच्च शिक्षा अध्ययन, दक्ष जनशक्ति, डीभी, पीआर आदिका नाममा बाहिरिनेको संख्या पनि लाखौं छ। यति हुँदाहुँदै पनि काम गर्न सक्ने उमेर १५ देखि ६० वर्षसम्मका ११.४ प्रतिशत नेपाली काम नपाएर भौतारिएको यो तथ्याक सुखद हैन। 

कतिपय विज्ञहरू यो तथ्यांक सरकारी भएकाेले यसलाई सहजै पत्याउन नसकिने पनि बताउँछन्। उनीहरू योभन्दा धेरै संख्यामा नेपालीहरू बेरोजगार रहेको ठान्छन्। 

नेपालमा रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको तथ्यांक पनि केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन्। यस्तै, रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ।

 

प्रकाशित मिति: : 2019-04-27 02:14:17

प्रतिकृया दिनुहोस्