क्रिस्टियानो रोनाल्डो मैदानमा आक्रामक, बाहिर भलाद्मी

तस्बिरः एजेन्सी

युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको मानवीय कार्यको विषयमा सायदै कोही जानकार नहोलान्!

उनले ४ वर्षअघि नेपालमा गएको महाभूकम्पमा सहयोग मात्र गरेनन्, आफ्नो आमाको क्यान्सर उपचार गर्ने अस्पताललाई ठूलो आर्थिक सहयोग पनि उपलब्ध गराए।

मानवीय गुणका कारण उनलाई धेरैले बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसीभन्दा माथि राख्छन्। उनी कसैको दुःख हेर्न सक्दैनन्। मैदानभित्र जति आक्रामक देखिन्छन्, त्यति नै बाहिर उनी मानवीय कार्यका लागि परिचित छन्।

सन् २०१४ मा १० वर्षीय बालक एरिक ओर्टिज क्रुजका परिवारले छोराको टाउकोको शल्यक्रियाका लागि याचनासहित रोनाल्डोलाई पत्र पठाए। जसमा लेखिएको थियो– कृपया तपाईको हस्ताक्षरसहित टिसर्ट र केही जुत्ता पठाइदिनु होला, जसलाई लिलामी गरेर हामी आफ्नो बच्चाको उपचारका लागि केही रकम जम्मा गर्न चाहन्छौं।

रोनाल्डोले उक्त चिट्ठीको तुरुन्त प्रतिक्रिया जनाए र बालकको शल्यक्रियाका लागि आवश्यक ५३ हजार स्टर्लिङ पाउण्ड नै पठाइदिए। यतिमात्र होइन, उनले फ्लोअपका लागि आवश्यक थप रकम पनि उपलब्ध गराए।

सन् २०१२ मा ९ वर्षीय क्यान्सरपीडित बालक नुहाजेट गुइलेनलाई रियल म्याड्रिडको खेल हेर्न निम्तो गरिएको थियो। रोनाल्डोले ती बालकको औषधी–उपचारमा लागेको पैसाको पनि व्यवस्था गरेका थिए।

सेभ द चिल्ड्रेनको विश्वब्यापी सद्भावनादूत भएका कारण रोनाल्डोले २०१५ मा नेपालमा गएको महाभूकम्पको बेला पीडित बाल–बालिकाका लागि पैसा उठाउने काम गरेका थिए। उनले सिरियाको शरणार्थी समस्याको बेला पनि बाल–बालिकाको उद्धारमा सहयोग गरेका थिए।

रोनाल्डोले आमाको क्यान्सर उपचार गर्ने अस्पताललाई रिसर्च सेन्टर स्थापनाका लागि १ लाख ५ हजार स्टर्लिङ पाउण्ड उपलब्ध गराएका थिए।

२०१५ मा सार्वजनिक रिपोर्टअनुसार रोनाल्डो विश्वमा सर्वाधिक दान गर्ने खेलाडी हुन्। उनले २०१५ मा गेटाफेविरूद्ध खेलमा एक समर्थकलाई जर्सी उपलब्ध गराएका थिए। यति बेला अर्को फ्यानले पनि उनीसँग जर्सीको माग गरेका थिए। उनले किट्सबाट अर्को जर्सी निकालेर उनको इच्छा पुरा गरिदिएका थिए।

केही वर्षअघि रोनाल्डोलाई स्कटिस क्लब रेन्जर्सका पूर्व स्टार फर्नान्डो रिक्सेनसँग भेट गर्न मन लाग्यो। मोटर न्युरोन रोगबाट थलिएका फर्नान्डोलाई उनले बेर्नाबेउमा भएको च्याम्पियन्स लिगको खेल हेर्न क्लबमै निम्तो दिए। यस्तै, आफ्नो समर्थकलाई सुरक्षाकर्मीले भेट्न बञ्चित गरेपछि रोनाल्डो आफै समर्थकलाई भेट्न गेटसम्म पुगेका थिए।

२०१६ को युरो कपमा उनलाई भेट्न मैदान भित्र प्रवेश गरेका एक समर्थकलाई सुरक्षाकर्मीले समात्ने प्रयास गरेका थिए। तर, रोनाल्डोले उनलाई अंकमाल गर्दै सम्झाएर बाहिर पठाएका थिए।

यस्ता थुप्रै कारणले रोनाल्डोलाई उनका समर्थकले मैदान भित्र मात्र होइन, बाहिर पनि सम्झिने गर्छन्।

प्रकाशित मिति: : 2019-04-26 22:15:02

प्रतिकृया दिनुहोस्