स्याउ बोकेको कन्टनरमा अवैध सात किलो सुन

तस्बिरः बीएल

उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा आज प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार केरुङबाट ना ६ ख ९०६८ नंको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध सात केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तीले बरामद गरेको हो।

सामान परीक्षणका क्रममा विशेष सुराकीका आधारबाट कन्टेनर डिब्बा जाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रुमालमा बेरिराखेको अवस्थामा सात केजी सुन फेला परेको र सुन लुकाई ल्याउने डिब्बा चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताए।

सुनसहित पक्राउ परेका घलेलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धुञ्चेमा पठाइएको बताइएको छ । सुनको मूल्य भने निर्धारण गर्न बाँकी रहेको प्रनाउ केसीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-04-23 22:30:29

प्रतिकृया दिनुहोस्