दैलेख : गाउँमा रोजगारी र आयआर्जनका विकल्प नहुँदा गुराँस गाउँपालिका–३ का सहवीर सुनारले धेरै वर्ष कालापहाड (भारतीय भूमि)मा बिताए। तर, उनी हिजोआज आफ्नै ठाउँमा पसिना बगाइरहेका छन्।
‘म कालापहाड नगएको चार महिना भयो’, गाउँनजिकै सडक खन्दै गर्दा भेटिएका सहवीरले भने, ‘गाउँमै रोजगारी मिलेको छ। परिवारसँगै बसेर काम गर्न पाएको छु। सडक खन्ने काम गर्छु। महिनामा १० हजार रुपैयाँ तलब मिल्छ।’ कालापहाडको दुःख छुटेर परिवारसँग बस्न पाउँदा उनी दंग छन्।
गाउँपालिकाले पूर्वाधार विकास कार्यदल गठन गरी उनीजस्ता स्थानीयलाई काम दिएको छ। कार्यदलमा सहभागी युवाले चार महिनादेखि गाउँपालिकाभित्रका सडक र बाटो खन्ने, सार्वजनिक भवन मर्मत तथा रंगरोगन गर्ने, खानेपानीका पाइप गाड्ने र अन्य पूर्वाधार निर्माणका काम गरिरहेका छन्। दैनिक आठ घण्टा काम गर्ने उनीहरूले मासिक रूपमा १० हजार रुपैयाँ पाउँदै आएका छन्। सुरुमा आठ वडाबाट १० जनाका दरले ८० युवाले रोजगारी पाएका छन्। यसले मजदुरीका लागि भारत जान बाध्य युवालाई गाउँमै रोकेको छ।