भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीबार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको भारतीय निर्वाचन आयोगले जनाएको छ।
भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको चुनावमा बिहीबार १२ राज्य र एक केन्द्र शासित प्रदेशका ९५ सिटका लागि मतदान भएको हो।
दोस्रो चरणमा ६१ प्रतिशतभन्दा बढी मत खसिसकेको भारतीय निर्वाचन आयोगले जनाएको छ
दोस्रो चरणमा भारतको आसाम, विहार, छत्तिसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिशा, पाण्डेचरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका ९५ सिटका लागि निर्वाचन भएको हो ।
विद्युतीय मतदान मेसिन (इवीएम) मा आएका केही प्राविधिक समस्याका कारण उडिशाका चार मतदान केन्द्रमा पुनः निर्वाचन गराउने निर्णय पनि निर्वाचन आयोगले लिएको छ ।
उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने अभिलाषासाथ अभियानमा सहभागी हुनुहुन्छ भने विपक्षी कङ्ग्रेसले उनलाई कडा चुनौती दिइरहेको विश्लेषकहरूले बताएका छन्। यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ ।
भारतको लोकसभा निर्वाचनलाई विभिन्न सात चरणमा सम्पन्न गर्ने कार्यतालिका अनुसार आजसहित दुई चरणको निर्वाचन सम्पन्न भइसकेको छ। मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ।