नेपालगञ्जमा राष्ट्रपतिद्वारा आठौं खेलकुद उद्घाटन: ‘टर्च लाइट’ सल्काउँदैछन् सुरेन्द्र हमाल

तस्बिरः बिएल

३३ वर्षपछि नेपालगञ्जमा दोस्रोपल्ट आयोजना हुन लागेको आठौं बृहत राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पूरा भएको छ।

प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र) सहित पहिलो पल्ट गैरआवासीय नेपाली (एनआएएनए) टिमको पनि सहभागिता रहेको छ।

नेपालगञ्जको ऐतिहासिक रंगशालामा ११ टिमका पाँच् हजार दुई सय ११ खेलाडी विभिन्न प्रतिस्पर्धामा उत्रिँदैछन्।

प्रतियोगितामा पुरुषतर्फ दुईहजार आठ सय २५ र महिलातर्फ दुई हजार तीन सय ८६ खेलाडी सहभागी छन्।

बुधबार आयोजित पत्रकार–सम्मेलनमा आठौं बृहत राष्ट्रियमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक,अफिसियल, रेफ्री, संघका प्रतिनिधि गरी झण्डै ११ हजारको हाराहारीमा सहभागिता रहने बताइएको थियो।

प्रतियोगितामा गैरआवासीय नेपाल टिमबाट २४ जनाले नौ खेलमा प्रतिस्पर्धा जनाउन लागेको बताइएको थियो। गैरआवासीय नेपालीमा अस्ट्रेलिया, अमेरिका, मकाउ, युएई, हङकङ, क्यानडा, मलेसिया गरी ७ देशबाट सहभागी छन्।

प्रतियोगिता प्रदेश ५ को बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देहीमा आयोजना हुँदैछ। पूर्वाधारको अभावमा केही खेल काठमाडौं, ललितपुर र पोखरामा हुँदैछन्।

विहिबार प्रतियोगिताको विधिवत उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले जानकारी दिए। 

नेपालगञ्जले २०५५ सालमा चौथों बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो।

विहिबारको उद्घाटन सत्रमा ओलम्पियन सुरेन्द्र हमालले ‘टर्च लाइट’ बाल्ने कार्यक्रम छ। दुई वर्षअघि पूर्वाञ्चलको विराटनगरमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदको ‘टर्च’ बुधबार धनगढी आइपुगेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

उद्घाटन समारोहमा करिब आठ सय ५० जनाले सामूहिक डान्स प्रदर्शन गर्दैछन्। समारोह समितिका संयोजक कुलबहादुर थापाले ब्रेकिनलिङ्क्सलाई दिएको जानकारी अनुसार करिब दुई हजारको हाराहारीमा स्थानीयबासीले आआफ्नो परम्परागत मौलिक झाँकी प्रदर्शन गर्दैछन्।

प्रतियोगितालाई यादगार बनाउन करिब साढे तीन लाख रुपैयाँको हाराहारीमा भारतबाट ल्याइएको विभिन्न प्रकारका पड्का पड्काएर आतिशबाजी गरिने कार्यक्रम रहेको छ। बुधबारको ‘ग्रान्ड रिहर्सल’ मा आतिशवाजीको केही झल्को प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: : 2019-04-17 22:25:11

प्रतिकृया दिनुहोस्