सगरमाथा सफाइ अभियानमा व्यवस्थापन गरिदैछन्- बेवारिस लाशहरू

सगरमाथामा संकलित फोहोर यसरी नै बोकाइन्छ। तस्वीर: टीकेपी स्केच

सगरमाथा क्षेत्रमा बेवारिसे अवस्थामा अझै पनि थुप्रै लाश भएको अनुमान गरिन्छ।हिमाली हावापानी र हिउँको चिसोको कारण वर्षौैसम्म पनि लाश नसडेर त्यतिकै रहिरहेका हुन्छन्।

यस वर्षको सगरमाथा हिमाल सफाइ अभियानमा ती लाशको पनि व्यवस्थापन गरिने योजना बनाइएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवशको अवसर पारेर पहिलो पटक सरकारले नै आगामी अप्रिलदेखि जुनसम्म सगरमाथा हिमाल सफाइ अभियान सञ्चालन गर्दैछ।

सगरमाथा प्रदुषण नियन्त्रण समितिका १२ जना आइसफल डाक्टरको संलग्नतामा ४५ दिनसम्म सञ्चालन हुने अभियानका लागि दुई करोड ३२ लाख १६ हजार तीनसय सात रूपैया खर्च गरिने छ। अभियानमा सगरमाथा क्षेत्रबाट पाँचहजार र आसपासबाट पाँचहजार गरी १० हजार केजी फोहोरमैला संकलन गरी सगरमाथा दिवशको दिन नाम्चेमा प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

प्रशोधन गर्न मिल्ने फोहोर मैला काठमाडोैंमा ल्याई विश्व वातावरण दिवशका दिन प्रदर्शन गरिने र ब्यबस्थापनका लागि ब्लु वेस्ट संस्थालाई दिइने पनि बताइएको छ।

अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नेतृत्वमा विभिन्न आठ संस्थाको सहकार्य हुनेछ। सहकार्य गर्ने संस्थाहरूमा नेपाली सेना, खुम्बु पासाङल्हामु गाउँपालिका, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ,सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आयोजना रहेका छन् । 

प्रकाशित मिति: : 2019-04-12 00:56:40

प्रतिकृया दिनुहोस्