नाम्चेबजारमा मनिषा कोइराला: भन्छिन्- 'नेपालकी छोरी हुँ, सगरमाथाको पाउ छुन कसरी रोकिन्छु होला र?

तस्वीर सौजन्य: डोल्मा शर्पा

अभिनेत्री मनिषा कोइराला सगरमाथा आधार शिविरको पैदलयात्राका लागि नाम्चेबजार आइपुगेकी छिन्। उनी नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सानो टिमसँग शनिबार लुक्लाका लागि उडेकी थिइन्।

नेपाल पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्ने क्रममा आफू यसतर्फ आएको उनले बताइन्। ब्रेक एन लिंक्सका लागि डोल्मा शेर्पाले जनाएअनुसार मनिषाले भनिन्- 'मातृभूमिका लागि केही गर्न पाउँदा खुशी लाग्छ। कम्तिमा यसै गरेर भए पनि नेपालप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु।'

तस्वीर: श्रद्धा श्रेष्ठ

क्यान्सरमाथि विजय प्राप्त गरेकी मनिषाले त्यसपछि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याएकी छिन्। खानापान, उठबस र दिनचर्यामा नै परिवर्तन ल्याएकी मनिषा भन्छिन्- 'मैले हिजोकी मनिषाका रूपमा अर्कै जीवन बाँचे।अहिले म अर्कै मनिषाको जीवन बाँचिरहेकी छु। दुबै जीवन आआफ्ना ठाउँमा सुन्दर छन्। अहिले मलाई यो जीवन अर्थपूर्ण पनि लागिरहेको छ।'

सगरमाथा आधारशिविर पुग्न स्वास्थ्यले साथ देला त ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्- 'नेपालकी छोरी हुँ, सगरमाथाको पाउ छुन कसरी रोकिन्छु होला र? उनले आफू पहिलाको भन्दा शारीरिक र मानसिक दुबै रूपमा मजबुत भएको महसुस गरेको पनि बताइन्।

उनले नेपालमा जन्मन पाउँनु हामी सबैको भाग्य भएको बताउँदै सबैलाई देशले के दियो भन्दा पनि आफूले देशलाई के दिएँ भनेर सोच्न आग्रह गरि्न। उनले भनिन्- 'आज हामी नेपाली लाखौंको संख्यामा संसारभर छरिएरका छौं। सन् २०२० मा हरेक नेपालीले एकजना विदेशीलाई नेपाल भ्रमण गराउँन सक्यौ भने मातृभूमिका लागि त्यो ठुलो योगदान हुने छ।'

तस्वीर: श्रद्धा श्रेष्ठ

उनले बाटामा स्थानीय मानिससँग पनि आशावादी मनका कुरा साटिन्। एक स्थानीय पुमा राई मनिषाले भनेको कुरा सम्झदै भन्छिन्- उहाँले मलाई भन्नुभयो, तपाई कति भाग्यमानी । सगरमाथाको काँखमा जन्मनुभयो। हेर्नहोस् आज संसारभरका मानिसहरू लाखौं करोडौं खर्च गरेर यहाँ आउँछन्। तपाई त जन्मेकै यही ।' 

मनिषाको कुराले आफूलाई प्रभावित पारेको बताउँदै उनले भनिन्- साँच्चै हामी भाग्यामानी रहेछौं । बल्ल मैले महसुस गरें।

तस्वीर सौजन्य: डोल्मा शर्पा 

प्रकाशित मिति: : 2019-04-10 07:19:12

प्रतिकृया दिनुहोस्