सत्तारुढ दल नेकपा एमालेको किसान महासंघले सरकारले किसानहरूको माग सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।
महासंघका अध्यक्ष डा. प्रेम दंगालले आइतबार एक विज्ञप्ति जारी गर्दै चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ भएपनि हालको बजारमूल्य सरदर १६२५ रुपैयाँ (प्रतिमन ६५०) मात्र भएको र उक्त मूल्यमा समेत धान विक्रि नभई कुहिने अवस्थाले किसानहरू हतोत्साही भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई बारम्बार झुक्याउने, हरेक क्षणमा हतोत्साही र निराशा बनाउने प्रवृति आपत्तिजनक रहेको महासंघले बताएको छ।
‘निर्धारित समर्थन मूल्यमा धान बिक्री गर्दासमेत किसानलाई फाइदा हुने अवस्था छैन भने १६२५ रुपैयाँ प्रतिक्विन्टल धान बेच्नुपर्दा किसानको अवस्था के होला? किसानले सरकारबाट जवाफ खोजिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
उत्पादित धान भण्डारण गर्ने पर्याप्त क्षमताका गोदाम किसानसँग नभएको र वर्षाको समयमा धान सुकाउनसमेत समस्या हुने भएकाले प्रत्येक वडामा ड्रायर मेसिनसहित भण्डारण गोदामको व्यवस्था गरिनुपर्ने माग महासंघको छ।
किसानबाट धान खरिद गरेर भण्डारण र आवश्यकताअनुसार वितरणका निम्ति खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेपनि कुहाएर फ्याल्नुपर्ने अवस्था रहेको भन्दै महासंघले किसानलाई हतोत्साहित बनाएको भन्दै महासंघले सरकारी निकायको औचित्यमाथि प्रश्न गरेको छ।
‘नेपाली जनताको करबाट संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुनुको औचित्यता के ? कृषि मन्त्रालयहरुको भूमिका के हो? सरकार किसानप्रति कहिले जिम्मेवार र जवाफदेही हुने? जस्ता अनुत्तरित प्रश्नले किसानलाई थप हत्तोत्साहित बनाएको छ। उत्पादित खाद्यान्नलाई व्यवस्थापन गर्न नचाहाने तर अर्बौंको आयात गर्न तयार हुने कुराले सरकारको गैरजिम्मेवारीपना पुष्टि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
महासंघले सरकारविरुद्ध कडा कदम उठाउन बाध्य हुने चेतावनी दिँदै भनेको छ, ‘
सरकारले धान खरिदमा ढिलासुस्ती गर्ने र बहानावाजी गर्ने र निर्धारित मूल्य बराबरको सोधभर्ना भुक्तानी नदिएमा धान उत्पादक किसानहरू कडा कदम उठाउन बाध्य हुनेछन्। त्यसैले नेपाल सरकार र सम्बन्धित निकाय समयमै गम्भीर भइ दिर्घकालीन समाधान दिन किसान महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’