नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा. विजयप्रसाद मिश्रले बहालवाला मन्त्रालयका पदाधिकारीहरू मन्त्री एवम् प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा अन्यत्र नियुक्ति पाउनु अनौठो नभएको बताएका छन्।
सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले बहालवाला पदाधिकारीहरूलाई अवकासको समयमा पनि नियुक्त गरिने बताएका हुन्।
‘हामीले देखेको बहालवाला मन्त्रालयका पदाधिकारीहरू, मन्त्री, प्रधानमन्त्री, सरकार समक्ष निकट हुन्छन्। त्यसैले उहाँहरूले आफ्ना कुरा सिधै पुर्याउन सक्नुहुन्छ। आफ्नो काम गरेर नीति निर्माता, राजनीतिज्ञहरूको मनमा बस्न सक्नुभएको छ। मनमा बसेपछि केही श्रेयभावले पनि उहाँहरूलाई नियुक्त गरौं तुरुन्तै भन्ने विचारधारा निर्माण हुनसक्छ। त्यसले गर्दा पनि अवकासको समयमा पनि नियुक्त गर्ने देखिन्छ।’
उनले पूर्व प्रशासकहरूको संलग्नतामा नीति निर्माण, प्रतिष्ठान गठन गरी अनुगमनका कामहरू गर्नुपर्ने बताए।
यस्तै, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने भन्ने कुनै धारणा कसैको नभएको बताए।
‘कसैको पनि कुलिङ पिरियड नराख्ने भन्ने धारणा छैन। अहिले पनि सुशासन ऐनमा स्वार्थको द्धन्द्ध भएको अवस्थामा एक वर्षसम्म पाइँदैन भनेर दफा १८ मा उल्लेख छ। तर त्यो कार्यान्वयन भएको छैन,’ उनले भने।
कार्यक्रममा सरकारका पूर्वसचिब कृष्णहरि बाँस्कोटा, डा. दामोदर रेग्मी लगायतको उपस्थिति थियो।