प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसहितका नेताहरूसँग छलफल गरेका छन्।
आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग छलफल गरेका हुन्।
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका बारेमा केन्द्रीत छलफल भएको बताइएको छ। त्यस्तै गणतन्त्र दिवस र राजावादीहरूको आन्दोलनलगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो।
बैठकमा एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल कृषिमन्त्री रामनाथ अधिकारी थिए।
कांग्रेसका तर्फबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. आरजू राणालगायत सहभागी थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक जोडिएपछि उनको कांग्रेसकै नेताहरूले राजीनामा मागिरहेका छन्। यस्तोमा गठबन्धन दलका शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।