अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा महङ्गो र एउटा विवादित ‘उपहार’ स्विकार गरेका छन्।
कतारले उपहारमा दिएको एउटा महङ्गो बिमान स्वीकार्ने कि नस्वीकार्ने भन्ने विवादले अमेरिकाको राजनीति नै हल्लिएको थियो।
त्यही विवादका बीच पेन्टागनले उक्त उपहार स्वीकार गर्ने बताएको हो।
‘अमेरिकाका सबै संघीय नियम, कानुनहरूको अध्ययनपछि कतारले दिएको बोइङ ७४७ अमेरिकाले स्वीकार गरेको छ’ पेन्टागनले भनेको छ।
यो बिमानलाई केही मोडिफिकेशन गरेर त्यसलाई ‘एयरफोर्स वान’मा सामेल गरिनेछ। एयरफोर्स वान भनेको अमेरिकी राष्ट्रपति चढ्ने बिमान हो। जसलाई संसारकै सबैभन्दा सुरक्षित र महङ्गो साधन मानिन्छ।
ह्वाइट हाउसले यो उपहारलाई कानुनीरुपमै वैध भएको जनाएको छ। कतारका राजाले ट्रम्पलाई यो उपहार दिने घोषणा उनको भ्रमणअघि नै गरिसकेका थिए। गत सातामात्रै ट्रम्प कतार, युएई र साउदीको भ्रमण गरेर फर्किएका थिए।
त्यही बेला कतारको त्यो उपहार विवादमा तानिएको थियो।
बोइङ ७४७ लगभग ४ सय मिलियन अमेरिकी डलरभन्दा पनि महङ्गो पर्छ। यसलाई अब राष्ट्रपतिको निजी हवाइ साधनका रुपमा प्रयोग गरिनेछ र ट्रम्पको कार्यकालपछि त्यसलाई राष्ट्रपतिको संग्राहलयमा राखिनेछ।
कतारको यो बिमानका केहि फचर्सहरू भने परिवर्तन हुनेछन्। राष्ट्रपतिले नै प्रयोग गर्ने भएपछि त्यसलाई सुरक्षा प्रोटोकलअनुसार मोडिफाइ गरिनेछ। त्यसका लागि लगभग एक वर्षजति लाग्नसक्छ। यसमा लगभग १०० करोड अमेरिकी डलर खर्च हुनेछ।
यो बिमानमा परमाणु वा मिसाइल आक्रमणलाई पनि छेक्नसक्ने क्षमता छ। त्यस्तै उडानकै बीचमा पनि इन्धन भर्नसकिने गरी यो बिमानलाई निर्माण गरिएको छ।
यसअघि ट्रम्पले कसैले दिएको उपहार अस्वीकार गर्नु भनेको ‘सबैभन्दा ठूलो मूर्खता’ हुने बताएका थिए। यद्यपि अमेरिकी कंग्रेसले त्यसलाई अझै मन्जुरी दिएको छैन। अमेरिकी कानुनअनुसार कंग्रेसको अनुमति बिना कुनै अर्को राष्ट्रले अमेरिकी अधिकारीहरूलाई कुनै उपहार दिनु गैरकानुनी मानिन्छ।
यद्यपि ट्रम्पले भने आफूलाई नभइ त्यो बिमान अमेरिकी रक्षा विभागका लागि भएको तर्क गर्दै आएका छन्। उनले यो पनि भनेका छन् कि आफ्नो कार्यकाल सकिएपछि आफूले यो बिमान प्रयोग गर्नेछैनन्। अहिले पनि ट्रम्पको आफ्नै निजी बिमान छ। जो संसारकै सुरक्षितमध्येको एक हो।
अमेरिकी राष्ट्रपतिले प्रयोग गर्दै आएका बिमानहरू निकै पुराना छन्। अहिले एयर फोर्स वानमा ७४७ र २०० जेट बिमानहरू छन्। यी बिमान सन् १९९० देखि प्रयोगमा छन्। यीसँगै केही साना बिमानहरू पनि छन्।