नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिस भएका एसएसपी दीपक रेग्मीको बढुवा रोक्न माग गर्दै उजुरी परेको छ।
सिन्धुलीका युवराज सफलले बढुवा सिफारिस भएका रेग्मी ‘नैतिक रुपले पतन भएको’ आरोप लगाउँदै गृहसचिवलाई सम्बोधन गर्दै उजुरी दिएका छन्।
युवराजले बढुवा रेग्मी एसपीको रुपमा जिप्रका बागलुङको प्रमुख रहँदा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध रहेको र उनका श्रीमानलाई फसाउन अनेक प्रचञ्च गरेको आरोप लगाएका छन्। उनले बढुवा रोक्नुपर्ने जिकिरसहि कारबाहीको पनि माग गरेका छन्।
उजुरीमा भनिएको छ, ‘डिआईजी बढुवाको सूची नम्बर ४ मा परेका उम्मेदवार दिपक रेग्मीले आफू जिल्ला प्रहरी कार्यालय बागलुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष श्रीमान दिपक थापालाई फसाउन निज थापाकै श्रीमतीको मिलेमतोमा झुठो वैवाहिक बलात्कारको मुद्दा दर्ता गर्न लगाउने साथै पीडित दिपक थापाको आमा राजकुमारी थापालाई लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउनेजस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्।’
रेग्मीविरुद्ध यसअघि पनि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत निकायमा उजुरी परी छानबिन भइरहँदा डिआईजीजस्तो पदमा बढुवा सिफारिस गरिनुले विधिको शासनको उल्लंघन भएको युवराजको मत छ।
‘नेपाल प्रहरीको डिआईजीजस्तो पदमा सिफारिस भएको व्यक्ति कानूनी राज्यप्रति बफादार, उच्च नैतिकवान, अनुशासित हुनुपर्नेमा त्यस्ता चरित्रहीन, अनुशासनहीन, नैतिकताहीन व्यक्तिलाई बढुवा समितिले डिआईजी बढुवा सिफारिस गरेकोले तत्काल सो निर्णय संशोधन गर्नुहुन बढुवा समितिको संयोजकज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उजुरीमा भनिएको छ ।
युवराजले आफ्नो उजुरीलाई वेबास्ता गरी रेग्मीको बढुवा कायमै राखेमा पत्रकार सम्मेलनमार्फत भण्डाफोर गर्नुका साथै र बढुवा समितिको निर्णयविरुद्ध कानूनी उपचारमा जाने चेतावनीसमेत दिएका छन्।