०८४ मा एक्लै बहुमत ल्याउने ओलीको सपना, छुटे महिमान (भिडियाे समाचार)

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गरेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले एकल बहुमत ल्याउने काम कष्टपूर्ण भए पनि एमालेका लागि त्यो सम्भव भएको बताएका हुन्। 

आफ्नो पार्टी आन्दोलनबाट माझिएर आएको बताउँदै त्यस अनुसार नै अघि बढ्न नेता कार्यकर्तालाई उनकाे आग्रह थियाे। 

भिडियो-

000

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो।

यसअघि संसदमा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गरेका थिए।

000

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका छन्। 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र कही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टिकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन्। 

विद्यालय शिक्षा विधेयकका अपूर्ण बिषयलाई समितिमार्फत पूर्ण गरिने बताउँदै हतार गर्न नहुने उनकाे भनाइ थियाे। 

000

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन्। 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए। 

उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

000

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो।

आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको हो।

000

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नहेरेपछि स्थगित भएको छ।

रविसहित छविलाल जोशीको रिटमा आज सुनुवाइ स्थगित भएको हो। 
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट हेर्न नमिल्ने सूचीमा परेको छ।  

यसअघि पनि पटकपटक उक्त रिट हेर्न नमिल्नेमा परेर सरेको थियो।

000

नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो।

यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटले हराएकाे हाे। 

प्रकाशित मिति: : 2025-05-19 21:10:00

प्रतिकृया दिनुहोस्