अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ। ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको हो।
बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ। पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ।
यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन्। उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ। हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं।’
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन्।
ह्यारिसले भनिन्, ‘जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन्।’
बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उमेदवारी फिर्ता लिन बाध्य भएको लगभग एक वर्ष पछि आएको हो। उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन्।
चिकित्सकीय भनाइअनुसार प्रोटेस्ट क्यान्सर सामान्य हो। उमेर ढल्किदैं जाँदा हरेक पुरुषमा यस्तो क्यान्सरका कोसिकाहरू देखा पर्नसक्छन्। तर यसले कुन चरण पार गरेको छ भन्नेमा त्यसको आक्रामकता मापन हुन्छ।
बाइडेनको शरिरमा देखा परेको यो प्रोटेस्ट क्यान्सर भने नवौं श्रेणीमा पुगिसकेको छ। जो निकै घातक मानिन्छ। उनको शरिरका हड्डीसम्मै क्यान्सरका कोसिकाहरू फैलिइसकेका छन्। त्यसले यसलाई ‘हाइ ग्रेड’को क्यान्सर भनिएको छ।
प्रोस्टेट क्यान्सर ग्रन्थिका तन्तुबाट उब्जने रोग हो। सुरुको अवस्थामा यो व्यथा प्रोस्टेट ग्रन्थिभित्रै फैलिने हुन्छ। तर रहँदा बस्दा यो ग्रन्थि बाहिर लिम्फाटिकग्लाण्ड, हड्डी, फोक्सो, मस्तिष्क, कलेजोतिर फैलिन सक्छ।
यो चाँडै फैलिने क्यान्सर भने होइन। उच्च श्रेणीसम्म पुग्नका लागि कम्तीमा १०-१५ वर्षदेखि क्यान्सरका कोसिकाहरू शरीरमा बढिरहेको हुनुपर्छ।
बाइडेनका एकजना छोराको पनि ब्रेन क्यान्सरका कारण सन् २०१५ मा निधन भएको थियो। उनी ४६ वर्षका थिए।