जर्मनी, बेलायत, फ्रान्स तथा पोल्याण्डका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सामूहिक वार्ता गर्ने भएको छन्। ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीसँग कुरा गर्नुअघि युरोपेली नेताहरू र अमेरिकी राष्ट्रपतिबीच सामूहिक वार्ता गर्ने भएका हुन्।
जर्मनका चान्सलर फ्रिड्रिख मर्त्जका अनुसार ट्रम्पले पनि यो सामूहिक वार्तालाई स्वीकार गरेका छन्। र आफू युक्रेनमा भइरहेको आक्रमण रोक्न चाहेको बताएका छन्।
यसबीचमा रुसले युक्रेनमाथि निकै ठूलो आक्रमण गरेको छ। रुसका कम्तीमा ३०० भन्दा बढी मानवरहित ड्रोनहरूले युक्रेनी भुमिमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसको क्षति विवरण भने आइसकेका छैनन्।
ट्रम्पले रुस र युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्ने बताएका थिए। ट्रम्पले अमेरिकी समयअनुसार सोमबार बिहान १० बजे उनले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग फोनमा कुराकानी गर्नेछन्।
भर्खरै तीनवटा धनी खाडी राष्ट्रहरूको भ्रमण सकेर फर्किएका ट्रम्पले यसअघि नै आफू नै अघि नसरेसम्म रुस-युक्रेन युद्धबिराम सम्झौता नहुने बताएका थिए।
‘यो सबै कुराकानीको एकमात्रै उद्देश्य भनेको त्यहाँ भइरहेको मानिसहरूको मृत्यु रोक्नु हो’ ट्रम्पले भनेका छन् ‘यसका साथै मैले ब्यापारका बारेमा पनि कुराकानी गर्नेछु।’
गत शुक्रबार रुस र युक्रेनका मन्त्रीहरूले इस्तानबुलमा वार्ता गरेका थिए। तर त्यहाँ कुनै पनि सहमति भेटिएन। युद्धबिरामका बारेमा कुनै सहमति नभए पनि दुबै राष्ट्रहरू कम्तीमा एक-एक हजार युद्ध बन्दीहरू रिहा गर्न सहमत भए।
रुसका राष्ट्रपति पुटिनले आफैले युक्रेनसँग सिधा वार्ता गर्ने भन्दै स्थान र समय पनि तोकेका थिए। तर अन्तिम अवस्थामा उनी वार्तामा बसेनन् र जेलेन्स्की पनि गएनन्।