भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लहान नगरपालिका-१७ स्थित बलान खोलाको बगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
बैशाख २४ गते बिहान करिब साढे ४ बजे भारतबाट लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरूको साथबाट ONEREX-१०० एमएल लेखिएको ४४३ बोतल लागुऔषध बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान नगरपालिका-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्। उनीहरूको साथबाट लागुऔषध राखिएको दुईवटा बोराबाट क्रमशः १२०-१२० बोतल फेला परेको छ।
त्यस्तै, सोही स्थानमा लुकाइ छिपाइ राखिएको थप दुई बोराबाट क्रमशः ११३ र ९० बोतल बरामद गरिएको छ।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल दुई थान (म.प्र. ०१-००४ प ५९८५ र स३प १७२) र मोबाइल दुई थान (रेडमी र रियलमी)समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैजनालाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लहानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।