के भारत पाकिस्तानमाथि आक्रमण गर्ने योजनामा छ? (भिडिओ रिपोर्ट)

भारतले एकपछि अर्को गर्दै ‘एक्सन’ लिन थालेपछि पाकिस्तान पनि अत्तालिन थालेको छ। जम्मु कश्मिरको पहलगाममा आतंककारीहरूले एकजना नेपालीसहित २६ जना पर्यटकहरूको हत्या गरेपछि भारतले पाकिस्तानविरुद्ध कैयौ कठोर निर्णयहरू गरिसकेको छ। 

मंगलबारमात्रै सबै सुरक्षा प्रमुखहरूलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनालाई ‘स्वतन्त्र’ छोडिएको बताएका थिए। 

आफ्ना सुरक्षा संयन्त्रणका प्रमुखहरूलाई उनले ‘कहाँ, कहिले र कसरी आक्रमण गर्ने’ भन्नेबारे निर्णय लिन भारतीय सेना स्वतन्त्र रहेको र यसमा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका थिए। 

अब भारतीय सेना खुला भएको छ र पाकिस्तानमाथि आक्रमणबारे सम्पूर्ण अधिकार सेनामाथि नै छ। उसले पाकिस्तानमाथि कहाँ, कहिले र कसरी आक्रमण गर्ने भन्नेबारे अब स्वतन्त्ररुपमा निर्णय लिन सक्ने भएको छ। 

भारतीय प्रधानमन्त्रीको यो निर्णयसँगै पाकिस्तान भने अत्तालिएको छ। पाकिस्तानका मन्त्रीहरूले बुधबार बिहान २ बजे पत्रकार सम्मेलनको आह्वान गरेका थिए। त्यसपछि पाकिस्तानका सूचना तथा प्रशारणमन्त्री अताउल्लाह तरारले एउटा भिडियो सन्देश जारी गरेका छन्।

त्यसमा उनले गुप्तचर सूचनाअनुसार भारतले २४ देखि ३६ घण्टाभित्रै पाकिस्तानमाथि आक्रमण गर्नसक्ने भन्दै सचेत र सावधान हुन भनेका छन्। 

‘पहलगाम घटनामा संलग्नताको निराधार र मनगढन्ते आरोपको बाहानामा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घण्टाभित्र सैन्य कारबाही गर्नसक्ने हामीलाई विश्वसनीय सूचना प्राप्त भएको छ’ उनले भनेका छन्। 

यो भिडिओ सन्देश उनले बिहान ३ बजेतिर सामाजिक सञ्जालमा राखेका थिए। त्यो भिडिओमा उनले भारतको कुनै पनि कदम विरुद्ध निश्चित र निर्णायक जवाफ दिन पाकिस्तान सधैं तयार रहेको पनि बताएका छन्। 
यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि भारतले पाकिस्तानमाथि चाँडै नै आक्रमण गर्नसक्ने बताएका थिए। 

आउँदा दुई चारदिनभित्रै युद्ध सुरु हुने संकेत पाकिस्तानले पाइसकेको भन्दै उनले त्यसका लागि मानिसक तथा सबै हिसाबले तयार रहन आफ्ना सुरक्षा फौंज र पाकिस्तानी नागरिकलाई पनि अपिल गरेका थिए। 

 

प्रकाशित मिति: : 2025-04-30 14:32:00

प्रतिकृया दिनुहोस्