नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीमा रहेका उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवन पुगेका थिए।
उनलाई पक्राउको कारण खुलाइएको छैन। फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। उनलाई डिल्लीबजार कारागारमा लैजान लागिएको प्रहरीले बताएको छ।
२०७२ साल भदौमा भएको टीकापुर नरसंहारको मुख्य आरोपी चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, २०८० सालको गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएका थिए। त्यतिबेलासम्म उनले ५ वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका थिए।
चौधरीलाई आममाफी दिएपछि नरसंहारमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।