प्रतिनिधि सभाबाट भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको ‘भन्सार विधेयक, २०८१’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पेश गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएका हुन्।
भन्सार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि अर्थमन्त्री पौडेलले विधेयकलाई पारित गरियोस् प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदले सहमति जनाएका थिए।
भिडियो-
000
अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ मगाएको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो।
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।
थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए।
000
नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएका हुन्।
शिक्षकहरूले छलफलमा एउटा कुरा गर्ने र आन्दोलन स्थलमा गएर अर्को कुरा गर्ने विषयले समस्याको समाधान गर्न नसक्ने उनकाे टिप्पणी थियाे।
000
जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ।
४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका-८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो।
अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए।
000
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले प्रतिनिधि सभा बैठकमा राखेको विषय तोडमोड गरी समाचार आएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफूले सोमबारको प्रतिनिधि सभा बैठकमा राखेका विषयवस्तु तोडमोड गरी सञ्चार माध्यमले समाचार बनाएको बताएका हुन्।
सोमबार संसदमा आफूले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाउँदै बाेलेकाे कुरालाई राम्रोसँग सुनेर समाचार प्रकाशित गर्न उनको आग्रह थियो।
000
आवासीय चिकित्सकहरूले मङ्गलवार २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन्।
गत चैत्र २१ गतेदेखि सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन्
आठौँ तह बराबरको निर्वाह भत्ता दिने निश्चित नभएसम्म आन्दोलन फिर्ता नलिने उनीहरूकाे अडान छ।
000
यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकाबाट फर्केको पूर्वप्रहरी बताउने गरेका थिए।
000
क्यानडाको आम चुनावमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले जित निकालेको छ।
जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन्।
उनले अमेरिकासँगकाे पुरानो सम्बन्ध अब समाप्त भएका बताए।
बारम्बार व्यापार युद्धको धम्की दिँदै आएका ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरा पनि गर्दै आएका छन्।