राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले पटक-पटक व्यवस्था र सरकार फेरिँदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘सरकारले २८ सालमा आएको ऐन पटक-पटक व्यवस्था फेरिए, पटक-पटक सरकार फेरियो। तर जाबो एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ।’
त्यस्तै, उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरू खारेज गर्नुपर्ने बताए।
उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरू छन् पार्टीका विद्यार्थीहरू छन्। सबै भातृ संगठनहरू खारेज नै गर्नुपर्छ। किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होईन्। त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन्।’