प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा बुद्धिजम् र शान्ति आजको आवश्यकता भएको बताएका छन्।
लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दुनियाँमा युद्धका बादलहरू मडारिरहेको भन्दै आजको बढी आवश्यकता बुद्धिजम् भएको बताए।
उनले भने, ‘बुद्धिज्म आजको झन बढी आवश्यकता हो, शान्ति झन बढी आवश्यकता हो । किनभने दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन्। दुनियाँ कहीं युद्धतिर त जाँदैन? युद्ध गर्नका लागि पर्याप्त सैन्यशक्ति र सैन्यशक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ।’
युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने भन्दै युुद्धले शान्ति स्थापना गर्न नसक्ने बताए।
उनले भने, ‘विश्व शान्तिका लागि एउटा चुनौती हो। यसलाई रोक्ने कुरा, म भन्न चाहन्छुु, हतियारले, युुद्धले शान्ति स्थापना गर्न सक्दैन। युद्धबाट युद्ध, युुद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठूलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन। त्यसकारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिका निम्तिको आकांक्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो। त्यसैकारण यसमा बुद्धका शिक्षाहरू, शान्तिका शिक्षाहरू आज यसकारण झन् बढी महत्वका रहेका छन्।’
नेपाल र चीनको सम्बन्ध कुटनीतिक, आर्थिक, राजनीतिक मात्रै नभई इतिहास र संस्कृतिको निर्माणसँग जोडिएको भन्दै त्यसो भएर यी चिजहरूलाई बुुझेर अगाडि बढाउनुु पर्ने पनि उनको भनाई छ।
उनले भने, ‘अहिले कुटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहँदै आएको छ। हाम्रा दुुई छिमेकीहरूसँगको हाम्रो सम्बन्ध कुटनीतिभन्दा पुरानो छ। विभिन्न राज्यहरूको निर्माण, आजका सीमानाहरूभन्दा पुुरानो छ। संस्कृतिको निर्माणसँग जोडिएको छ। त्यसो भएर हामीले यी चिजहरूलाई बुुझेर अगाडि बढाउनुु पर्छ।’