सक्रिय राजनीतिमा विद्याको ‘अनौपचारिक कमब्याक’

Break n Links
Break n Links

औपचारिक राजनीतिमा कम्ब्याकको तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको तर्फबाट अनौपचारिक राजनीति सुरु गरेकी छन्।

पछिल्लो समय उनी नेकपा एमालेको राजनीतिक गतिविधिमा टिप्पणी र चासो व्यक्त गर्न थालेकी छन् मानौंकी उनी पूर्वराष्ट्रपति नभएर एमालेकी कुनै एक नेता हुन्।

प्रधानमन्त्री केपी ओलीलाई काउन्टर दिन ओली इतरका नेताहरूको पहलमा उनी एमालेबाट सक्रिय राजनीतिमा फर्किने उपयुक्त समयको पर्खाइमा छिन्।

शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का तत्कालिन अध्यक्ष अधिकारीको २६औं स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले अधिकारी नेतृत्वको सरकार सबैभन्दा सफल रहेको दाबी गरिन्।

भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरूको जस अझैपनि नेकपा एमालेले पाइरहेको बताइन्।

उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय,  सुशासन, पारदर्शीता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । त्यस सरकारले अघि सारेका आफ्नो गाउँ आफैं बनाउ, जेष्ठ नागरिकहरूको लागि सम्मान स्वरुप वृद्धभत्ता जस्ता कार्यक्रमले राष्ट्र निमार्णमा  सफल भएको थियो। मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरूको जस अझैपनि नेकपा एमालेले पाइरहेको छ भन्दा अतिसयुक्ति नहोला।’ 

पूर्वराष्ट्रपति भण्डारीले जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माणका लागि मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार हुनुपर्ने बताइन्।

‘मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका दिशामा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ। यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्ने आधार तयार गर्छ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण हुनेछ।’

उनले मनमोहन स्मृति प्रतिष्ठानले मुलुकमा शिक्षाको विकास तथा सामाजिक क्रियाकलापका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताइन्।

प्रकाशित मिति: : 2025-04-26 14:19:00

प्रतिकृया दिनुहोस्