भूठान: शरणार्थी हुनुको पीडा, सांस्कृतिक विचलन र धर्मान्तरणको बाध्यता

पूनम पौडेल

काठमाडौं
Break n Links
Break n Links

चलचित्र ‘भूठान’को हिजो वैशाख १२ गतेदेखि सार्वजनिक प्रदर्शन सुरु भएको छ। 

भूठान नाम दिइए पनि नेपालको छिमेकी देश भुटानसम्बन्धी कथा भएकोले यस चलचित्रले नेपालीको ध्यान तान्नु स्वभाविक नै हो। खासगरी सन् नब्बेको दशकमा भुटानबाट लखेटिएर भारतको बाटो हुँदै नेपाल पसेर झापाका विभिन्न स्थानका शिविरमा शरणार्थीका रुपमा बसेका नेपाली मूलका भुटानीका कथासँग प्रायस नेपाली जानकार छन्।

भूठान चलचित्रले तिनैमध्ये एक भुटानीको कथा बोकेको छ। तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगेको एउटा भुटानी परिवार र परिवारका मुली विष्णुबहादुरको कथा हो भूठान।

भुटानका पूर्व राष्ट्रिय फुटबल खेलाडी विष्णु अमेरिका पुगेपनि मन भने भुटानमै छ। भुटानको जमिनमा एकपटक पाईला टेकेर मरौं भन्ने उसको जीवनको घिड्घिडो छ। त्यसका लागि उसले १० वर्षमा १० पटक भुटानको भिषा आवेदन गर्छ तर स्वीकार हुदैन। भुटान जान पाउने लालसामा हिन्दू धर्मावलम्बी विष्णु ईशाई धर्म अपनाउँछ।

अनेकथोक गर्छ। भुटान जान नपाएको रनाहामा मानसिक रुपमा विछिप्त बनेको विष्णु आखिरमा भुटान जानै नपाई अमेरिकामै प्राण त्याग्छ। अनि सुरु हुन्छ उसको मृत्यु संस्कारलाई लिएर गलफत्ती, भूठानको कथा यत्ति हो।

भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेपछिको परिवारमा देखिएको जटिलताको पाटो पनि चलचित्रमा देखाउन खोजिएको छ। जस्तो कि परिवारकी कान्छी सदस्य नातिनी जो अमेरिकामै जन्मिएकी हुन्, उनलाई नेपाली चलन र अमेरिकी जीवनशैलीबीच तादम्य मिलाउन परेको गाह्रो अवस्थालाई चलचित्रमा राम्रोसँग चित्रण गरिएको छ।

भुटान जान अनेक हर्कत गरिरहने हजुरबुबा, दुईवटी हजुरआमा, आफ्नै बुबाआमा र अमेरिकी जीवनशैलीको बीचमा उनी आफूलाई सन्तुलित पार्ने असफल प्रयासमा हुन्छिन्। कथा नेपालीको भएपनि प्रस्तुति भने असाध्यै विम्व्यात्मक छ। धेरै जसो दृश्यहरू बुझ्नै कठिन छ।

चलचित्र फ्ल्यास ब्याकमा हो कि वर्तमानमा हो बुझ्नै गारो छ। अमेरिकामा रहेका पात्रहरूको कथा भएपनि अमेरिकाका दृष्यहरू अत्यन्तै कम छन्। प्राय दृष्यहरू इनडोर छन्। र सबैभन्दा खट्किने चाहिँ भुटानको कथा भएपनि एकपटक पनि भुटान काहिँकतै  देखाइँदैन। अनि प्रायजसो दृष्यहरू पात्रको पछाडिबाट खिचिएका छन्। किन त्यसो गरिएको हो बुझिँदैन।

धेरैजसो दृष्यहरू अनावश्यक छन् र लम्ब्याइएका छन्। जस्तो कि विष्णु पात्र र उसकी कान्छि श्रीमती सुतिरहेको दृष्य सारै लामो र पट्यारलाग्दो छ। पहिलो श्रीमतिसँगको चुम्बन र त्यसपछिको बेडसिन पनि सार्है लामो र अनावश्यक छ। 

पाश्वर्वमा महामृत्युन्जय मन्त्र बजाएर विष्णु पात्रलाई नाङ्गै उभिएको देखाइएको छ, त्यो दृष्यको कुनै तादम्य नै छैन। चर्च र पादरीका दृष्य यति धेरै र लामा-लामा छन् कि यस्तो लाग्छ हामी कुनै ईशाई धर्मसम्बन्धी डकुमेन्ट्री हेरिरहेका छौं।

अनावश्यक दृष्य र विम्वहरूको भरमार छ चलचित्रमा। जुन आम दर्शकलाई बुझ्न सार्है कठिन छ। विष्णुको मृत्यु कसरी भयो? हृदयघातले वा रेलको पटरीमा बस्दा रेलले किचेर? रेलले किचेर मरेको भए उसको शरीर सग्लो कसरी रह्यो? काजक्रियाका लागि लागि राखिएको भवनबाट धुवाँको मुस्लो निस्किएको दृष्य निकै बेर देखाइन्छ त्यसको अर्थ के हो? बुझ्नै कठिन।

रुख जलेको देखाइन्छ त्यसको अर्थ के? विष्णुको शवलाइ जलाइयो? अन्तिममा काजकिरिया गर्न राखेको भवनमा आगो लागेको दृष्य देखाइन्छ, त्यसको अर्थ बुझ्न पनि कठिन छ। चलचित्रमा सबै कुराको लजिक खोज्नु हुदैन भन्ने तर्क पनि आउला। तर लजिक नखोज्ने नाममा विम्बै विम्बको भारी पनि दर्शकको टाउकोमा थोपर्नु हुँदैन।

नयाँ पुस्तामा साँस्कृतिक संक्रमण,धर्मान्तरण गर्नुपर्ने  बाध्यता, शरणार्थी हुनुको पीडालाई भने चलचित्रले राम्रोसँग उजागर गरेको छ।

मुख्य पात्र विष्णुबहादुरको भूमिकामा वरिष्ठ हास्यव्यङ्ग कलाकार हरिवंश आचार्य रहेका छन्। सधैंजसो हास्य चरित्र निर्वाह गरिरहेका उनलाई यसमा गम्भीर चरित्रमा देख्न सकिन्छ। भुटान जाने उत्कट चाहानामा अनेक हर्कत गर्दा उनी कारुणिक भन्दा पनि मानसिक रुपमा विछिप्त जस्ता बढी देखिन्छन्।

उनको अभिनयले उनीप्रति करुणा जाग्दैन, आँखामा आँसु आउँदैन। सबैभन्दा सशक्त चरित्र र  स्वभाविक अभिनय नातिनीको भूमिकामा रहेकी गुनगुनको छ। 

अदिति प्याकुरेलको अभिनय अत्यन्तै सजीव र स्वभाविक छ। उनलाइ हेर्दा चलचित्रकी पात्र नभइ कुनै वास्तविक पात्र लाग्छिन्। दोश्री पत्नी पूजा लामा चन्द, पहिली पत्नी अनुराधा मजमुदार, छोरा बुहारी जोयस पान्डे र श्रृचा घिमिरे र सानो भुमिकामा दयाहाङ राईले सहज अभिनय गरेका छन्। पादरीको भुमिकामा विमल सुवेदीको अभिनय भने उत्कृष्ट छ।

निर्देशक विनोद पौडेलको निर्देशन राम्रो भएपनि हलिउड शैलीको चलचित्र बनाउन खोज्दा अत्याधिक विम्ब र अनावश्यक दृष्यको भरमारबाट चलचित्रलाई जटिल बनाएका छन्। समग्रमा एउटा नेपालीभाषी भुटानी अमेरिकी परिवारको अवस्था र मातृभुमि प्रतिको माया र त्यहाँ फेरि फर्कने हुटहुटीको कथा हो भूठान। यद्यपि चलचित्र भरी भुटान नै भने पनि शीर्षकमा चाहिँ किन भूठान भनिएको छ यो पनि बुझिँदैन। विम्बहरूलाई झेल्न सक्छु भन्नेहरूका लागि भने भूठान चलचित्रले निराश बनाउँदैन।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्र हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली चलचित्र हो। जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्। ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन्।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो।

प्रकाशित मिति: : 2025-04-26 13:56:00

प्रतिकृया दिनुहोस्