दिनेश राउतको निर्देशनमा बनेको फिल्म 'महाभोज' जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।
निर्माण टिमले फिल्मको प्रचारप्रसार थालिसकेको छ। यसैबीच आइतबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिएको छ।
दुईमध्ये एक पोस्टरमा फिल्मका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरूङ र मलिका महतलाई समावेश गरिएको छ। पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले जसले फिल्ममा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको संकेत गर्छ।
अर्को पोस्टर ग्रामीण परिवेशमा रहेर तयार पारिएको छ। यसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाल लगायतका कलाकारहरूलाई पनि देखाइएको छ। दुवै पोस्टरमा अभिनेता दयाहाङलाई हर्षित अनुहारमा देखाइएको छ। पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन्।
फिल्मको यही मंगलबार टिजर सार्वजनिक गर्ने तयारी छ। निर्देशक राउतका अनुसार 'महाभोज' मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो। उनले भने, 'समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस फिल्ममा उजागर गर्ने प्रयास गरेको छु।'
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको ‘महाभोज’ का निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन्।
फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्।
निर्माण पक्षका अनुसार फिल्म नेपालसँगै नेपालीहरू बसोबास मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइनेछ।