‘रुस-युक्रेन’ युद्धबिरामको प्रयासबाट पछि हट्दै अमेरिका

Break n Links
Break n Links

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेनको युद्ध रोक्ने आफ्नो मध्यस्थकर्ताको भूमिकाबाट पछि हट्नसक्ने चेतावनी दिएका छन्। 

पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले अहिले युद्धबिरामका लागि दुबै देशले कुनै संकेत नदेखाएको र शान्ति स्थापनका लागि प्रक्रिया अघि नबढ्ने हो भने अमेरिका ‘पछि हट्नसक्ने’ बताएका हुन्। 

‘केही दिनमै युद्ध बिराम हुन्छ भन्ने कुनै संकेतहरू देखिएका छैनन्’ उनले भनेका छन् ‘तर हामी चाहन्छौं यो चाँडै होस् र युद्ध समाप्त होस्…।’

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युद्ध बिराम सम्झौतामा कुनै स्पष्ट संकेतहरू देखिएनन् भने अमेरिकाले त्यसका मध्यस्थताको प्रयास छोड्ने बताएका थिए। 

‘हामीले युद्धमा मरिरहेका नागरिकका कुरा गरिरहेका छौं। वास्तवमै हामी त्यसलाई रोक्न चाहन्छौं। यसमा युद्धरत कुनै पक्षले बाधा अड्चन ल्याउन खोज्छन् भने हामी तिनलाई मूर्ख अनि वेवकुफ भन्नुबाहेक अरु केही गर्न सक्दैनौं। वस् त्यसपछि हामी पछि हट्नेछौं’ ट्रम्पले पत्रकारहरूलाई जवाफ दिँदै भने। 
केही दिनअघि युक्रेनका राष्ट्रपति भोलोमिर जेलेन्स्कीले ट्रम्पका विशेष दूत स्टिभ विटकफलाई ‘रुसका पक्षधर भएको’ आरोप लगाएपछि ह्वाइट हाउसको यस्तो प्रतिक्रिया आएको हो। 

त्यसअघि युक्रेनका जेलेन्स्कीले रुससँग कुनै पनि सम्झौता गर्नुअघि युक्रेनमा बोलाएका थिए। उनले रुससँग कुनै औपचारिक सम्झौतामा पुग्नुभन्दा अघि एकपटक युक्रेन आएर रुसको ‘निर्ममता’ हेर्न भनेका थिए। 

चुनावी अभियानकै बेला रुस-युक्रेन युद्ध रोक्ने बाचा गरेका ट्रम्पले त्यसपछि पनि लगातार प्रयास गरिरहेका छन्। एक तहसम्म युद्ध रोक्न युक्रेन तयार भए पनि रुस भने असन्तुष्ट छ। रुसलाई फकाउनका लागि ट्रम्पले निरन्तर आफ्ना दूतहरू मस्को पठाइरहेका छन्। 

आफू दोस्रो कार्यकालका लागि राष्ट्रपति भएलगत्तै ट्रम्पका दूतहरूले साउदी अरबमा रुसी प्रतिनिधिहरूसँग वार्ता गरेका थिए। तर युक्रेनलाई थाहा नदिइएको त्यो वार्तालाई स्वीकार नगर्न युरोपेली राष्ट्रहरूले चेतावनी दिएका थिए। 

त्यसलगत्तै एउटा खानी सम्झौतामा हस्ताक्षर गर्नका लागि ह्वाइटहाउसमा बोलाएर ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीको घोर अपमान गरेका थिए। त्यसपछि युक्रेनले युरोपेली राष्ट्रको साथ खोजेको थियो। 

तीन दिनअघिमात्रै ट्रम्पका एकजना विशेष दूत स्टीभ विट्कफले मस्को पुगेर रुसी अधिकारीहरूलाई भेटेका थिए। युद्ध बिरामका लागि छिटो र निर्णय लिनका लागि ट्रम्पले रुसलाई चेतावनी दिइरहेका बेला विशेष दूत त्यहाँ पुगेका हुन्। 

मस्कोमा उनले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग लामो वार्ता गरेका थिए। करिब चारघण्टासम्म भएको त्यो वार्ता निकै सकारात्मक र फलदायी भएको उनले बताएका थिए। 

त्यसअघि अमेरिकाले साउदी अरबमै युक्रेनका प्रतिनिधिहरूसँग पनि छलफल गरेको थियो। त्यो बेला कम्तीमा ३० दिनका लागि युद्ध बिराम गर्न युक्रेन सहमत भए पनि रुसले त्यसलाई अस्वीकार गरेको थियो। 

त्यसलगत्तै फेरि मस्को पुगेका ट्रम्पको प्रतिनिधि टोलीले रुसलाई कम्तीमा सामुद्रिक जहाज र उर्जा संशाधनमा दुबै पक्षले आक्रमण नगर्नेगरी सहमति गरेका थिए। 

तर रुसले भने निरन्तर आक्रमण गरिरहेको छ। 

योबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसप्रति ढल्किरहेका छन्। उसलाई युद्धबिरामका लागि तयार पार्न उनले हरसम्भव उपायहरू अपनाइरहेका छन्। 

तर रुससँग कुनै पनि सम्झौतामा पुग्नुअघि एकपटक युक्रेन आएर त्यहाँको अवस्था हेर्नका लागि जेलेन्स्कटीले ट्रम्पलाई अपिल गरेका हुन्। 

‘कुनै पनि निर्णयमा पुग्नुअघि वा रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पलाई युक्रेनमा स्वागत गर्न चाहन्छु। उनी यहाँ आउन् र यहाँको अवस्था हेरुन्। यहाँको मानिस, बालबालिका, ध्वस्त भएका भौतिक भग्नावशेषहरू अनि मारिएका मान्छेका परिवारहरूको दर्द बुझून्…’ एउटा  अमेरिकी टेलिभीजनसँग कुरा गर्दै जेलेन्स्कीले भनेका थिए। 

त्यसयता रुस र युक्रेन दुबै पक्ष शान्ति स्थापनाका अघि बढेका छैनन्। बरु दुबैले एकअर्काविरुद्ध आक्रमण जारी राखेका छन्। 
 

प्रकाशित मिति: : 2025-04-19 11:10:00

प्रतिकृया दिनुहोस्