जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको दायित्व हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

सोमबार नगरकोट भ्रमण वर्ष २०८२ शुभारम्भ समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नुपर्ने बताएका हुन्।

‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो। आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ।’

राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको पनि उल्लेख गरे।

उनले भने, ‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ। पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्छ।’ 

राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले हामी सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गरे।

प्रकाशित मिति: : 2025-04-14 17:22:00

प्रतिकृया दिनुहोस्