पेस्तोलसहित एक भारतीय पक्राउ

सशस्त्र प्रहरी बलले रौतहटबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो। होटेलबाहिर मदिरा सेवन गरेर हो-हल्ला एवं झै-झगडा गरिरहेको सुचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको साथबाट पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान बरामद गरिएको हो।

अबैध हतियार, लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए। 

नेपाल भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-04-13 17:11:00

प्रतिकृया दिनुहोस्