प्रधानमन्त्रीका दुईसाताः थाइल्याण्ड गए, आए, भाषणमा समय बिताए

आकांक्षा धामी

प्रधानमन्त्री केपी शर्मा ओली गत हप्ता थाइल्याण्डको ऐतिहासिक भ्रमणमा निस्केका थिए। ‌थाइल्याण्ड भ्रमणबाट फर्किएका उनले आफ्नो अधिकांश समय भ्रमण, उद्घाटन र शिलान्यासमा बिताए।

ओलीको पछिल्लो एक साता त्यति सन्तोषजनक छैन्। सडक आन्दोलनले ओली सरकारको टाउको दुखाइ बनेको छ।

पछिल्लो साता देशभित्रको राजनीतिक अस्थिरता र सडक आन्दोलनको सम्बोधन वा जनताका मुद्दाभन्दा पनि ओलीको समय विदेशी मञ्च र औपचारिक कार्यक्रममा बढी बित्यो।

चैत १७ देखि २९ गतेसम्मको अवधिमा प्रधानमन्त्री ओलीले विदेशी भ्रमण, संसदमा सम्बोधन, पार्टी अधिवेशन, व्यवसायीहरूका कार्यक्रमदेखि मधेस प्रदेश सभामा सम्बोधनमा व्यस्त देखिए। यो दौडधुपले उनलाई सडक आन्दोलनका क्रममा उठिरहेका माग हरूका सम्बन्धमा सम्बोधन गर्ने फुर्सद नै पाएका छैनन्।

उनले चैतको १७ गते आफ्नो थाइल्याण्ड भ्रमण र बिमस्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग परामर्श गरे।

यसैगरी चैत १८ गते प्रधानमन्त्री ओली कुलमान बर्खास्तप्रतिको विरोधमा संसदमा जवाफ दिन उपस्थित भए। जहाँ उनले ठाडो शैलीमै मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन् भन्दै प्रश्न हरूको जवाफ फर्काए।

उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अबरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताए।

यसैगरी चैत १९ गते ओली २१ जनाको टोलीसहित थाइल्याण्डतर्फ प्रस्थान गरे। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी थाइल्याण्ड गए। भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसमेत थिए।

सोही दिन नै ओलीलाई थाइल्याण्डमा उपप्रधानमन्त्रीबाट स्वागत गरियो।

यसैगरी चैत २० गते प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर प्रदान गरियो। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको थियो।

चैत २१ गते प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता भयो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्कक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको थियो।

सोही दिन नै थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त थिए।

भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो।

सोही दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताए। 

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्काे ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आव्हान गरे।

सोही दिन नै प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता भयो। उनी हरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

यसैगरी चैत २२ गते ओलीले बिम्स्टेकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा सुनाए । उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ।’

चैत २२ गते नै प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता भयो । जहाँ उनी हरूबीच द्विपक्षीय हितकाबारे चर्चा भयो । 
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको थियो ।

परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको थियो ।

चैत २३ गते प्रधानमन्त्री थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किए । स्वदेश फर्किएसँगै पत्रकार सम्मेलन गर्दै ओलीले मोदीसँग भेटवार्ता सकारात्मक भए पनि सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने बताए ।

यसैगरी सोही दिन नै ओलीले विभिन्न नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौता हरू समेत सार्वजनिक गरे।

यसैगरी चैत २३ गते नै थाइल्याण्डबाट भर्खरै मात्र स्वदेश फर्किएका ओली कार्यक्रममा जान हतारिए । उनी ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सहभागी हुन पुगे । जहाँ उनले पूर्वज हरू हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं भनेर सम्बोधन गर्न भ्याए । 

यसैगरी चैत २५ गते प्रधानमन्त्री ओलीले आन्दोलनमा रहेका शिक्षक समुदायका मागबारे मन्त्री र सचिव हरूसँग छलफल गरे।

सोही दिन नै ओली हिमालयन संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो भन्दै कडा मन्तब्य दिएर फर्किए।

चैत २६ गते प्रधानमन्त्री ओली मधेस प्रदेशसभालाई सम्बोधन गर्न पुगे । जहाँ उनले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे ।

चैत २६ मै ओली एमाले पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटन सत्रलाई सिरहा बजारमा सम्बोधन गर्न पुगे । जहाँ उनले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन भन्दै कडा टिप्पणी र आफ्नो सरकारको तारिफ गरे ।

यसैगरी चैत २७ गते ओली नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्न पुगे । जहाँ उनले सरकारले सुशासनमा कुनै सम्झौता नगर्ने बताए । 

यसैगरी चैत २८ गते ओली नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा सहभागी हुन पुगे । जहाँ उनले निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्ने बताए ।

यसैगरी चैत २९ गते ओली रुपन्देही जिल्ला कमिटीको जागरणसभालाई सम्बोधन गर्न बुटवल पुगे । जहाँ उनले विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षक हरू आन्दोलनमा बसिरहनु पर्दैन भन्दै शिक्षक हरूलाई आश्वासन दिए । 

यसैगरी २९ गते नै प्रधानमन्त्री ओली नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रममा सहभागी भए । जहाँ सेनाका अधिकृत क्याडेटलाई खुकुरी प्रदान गरे ।

यतिबेला काठमाडौं केन्द्रीत देशभरका शिक्षक, सहकारी पीडित, मेडिकल कलेजका विद्यार्थीलगायतको सडक संघर्षलाई ओलीले आफ्नो प्राथमिकतामा राखेका छैनन् । देशभित्रको असन्तोष, आन्दोलन र संसद अवरोधका कारण सर्वसाधारणमा परेको मर्काका विषयमा ओली मौन देखिन्छन्।

प्रकाशित मिति: : 2025-04-12 15:48:00

प्रतिकृया दिनुहोस्