नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र ल्याउन गरिएको सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि मात्र जोडिन आएको दाबी गरेका छन्।
एकीकृत समाजवादीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा सम्बोधन गर्दै नेपालले यस्तो दाबी गरेका हुन्।
उनले आफू (तत्कालिन नेकपा एमालेको महासचिव) र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग देशमा गणतन्त्र ल्याउने सहमति गरेको दाबी गरेका हुन्। आफूहरूले सहमति गरेपछि मात्र प्रचण्ड आएको बताए।
उनले भने, ‘यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौं। एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र। पछि मात्रै आउनुभएको हो प्रचण्डजी। मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो उहाँहरू।’
उनले थपे, ‘बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौं। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौं। ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो।’
उनले पूर्वराजाका एक सचिवले ज्ञानेन्द्रले तत्काल राजाका रूपमा फर्किन इच्छा नगरेको भनेपछि आफ्नो मन अलिकति शान्त भएको उनले बताए।
उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनें। पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन। अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भनेपछि अलिकति मन शान्त भएको छ।’