रवि प्रधानमन्त्री बन्न कांग्रेसको जालमा फसिसकेका थिए, मैले नै बचाएँः मुकुल ढकाल

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको अफर आएको स्वीकार गरेका छन्।

उनले कांग्रेसबाट एक वर्षको लागि प्रधानमन्त्रीको अफर आएपछि लामिछाने हतारिएर कांग्रेसको जालमा फस्न लागेपछि आफैंले रोकेको दाबी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि प्रधानमन्त्रीका लागि हतारिएपछि आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।

उनले भनेका छन्, ‘त्यतिबेला प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग गठबन्धन परिवर्तन गरी एमाले-रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, काङ्ग्रेस प्रतिपक्षमा बस्यो। काङ्ग्रेस प्रतिपक्षमा बसेपछि, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए। काङ्ग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो।’

कांग्रेसबाट प्रस्ताव आएपछि- 

मुकुलका अनुसार काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछी, लामिछाने प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए। सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन उनले मुकुललाई निर्देशन दिएका थिए।

मुकुलले तर आफूकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछि, लामिछानेलाई संविधानको ‘धारा १०० (२)- प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’ भन्ने विषय जानकारी गराएको बताएका छन्।

त्यसपछि के भयो?

त्यसपछि मुकुलले संविधान अनुसार तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने र ३० दिनमा आफैं प्रधानमन्त्री बन्ने भएपछि त्यसभित्र अनेक तिकडम गर्न सक्ने, त्योपनि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालिएको बताएका छन्। 

उनले भनेका छन्, ‘रास्वपाले तत्काल सरकार छाडे, काङ्ग्रेस-माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो।’

कांग्रेसबाट धोकाधडी हुने आशंका

नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १-२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरिएको मुकुलको दाबी छ। काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार नभएकोले रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल लामिछाने प्रधानमन्त्री नबनिने रहेछ , यो त झुक्याइएको रहेछ भन्नेमा पुगेको र त्यसपछि काङ्ग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भएको मुकुलको दाबी छ।

अन्त्यमा मुकुलले भनेका छन्, ‘राजनीतिक पार्टीहरूबीच हुने आपसी कुरालाई रवि दाइ आफैंले पटक पटक दोहोर्‍याएर अराजनीतिक चरित्र देखाएका हुन्, मैले यता ठ्याक्कै के भएको थियो, त्यो भनिदिएको मात्र हो।’

प्रकाशित मिति: : 2025-04-06 16:09:00

प्रतिकृया दिनुहोस्