ओली–मोदीले भेटेका बर्मेली ‘क्रूर शासक’विरुद्ध बैंककमा नाराबाजी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखरका बेला म्यान्मारका सैनिक शासक मिन ओङ ह्लाइङले विभिन्न राष्ट्रका सरकार प्रमुखहरूलाई भेटेका छन्। 

‘क्रूर सैनिक शासक’का रुपमा चिनिएका उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत बिमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुखहरूलाई भेटेका हुन्। तर उनको ब्यापक आलोचना भइरहेको छ।

देशका आम नागरिकमाथि निकै क्रूर दमन गर्दै आएका उनलाई म्यान्मारका जनताले पनि रुचाउँदैनन्। थाइल्याण्डले पनि सैन्य ‘कू’लाई स्विकार गरिरहेको छैन। तथापि उनलाई बैंकक बिमस्टेकमा बाेलाइयाे।

बिमस्टेक बैठक चलिरहेको बैंककको सांग्रिला होटलमा एकजना युवाले उनीविरुद्ध नारा लगाउँदै एकल प्रदर्शन गरेका थिए। उच्च शिक्षा हासिल गरिहेका ती युवकलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो।

ती थाई युवाले ‘निर्दोष व्यक्तिको रगतले रंगिएका हातहरू नमिलाउन’ थाई सरकारका प्रमुखहरूलाई पनि चेतावनी दिएका थिए। 

‘तानाशाह र हत्यारा मिन ओङ ह्लाइङलाई थाइल्याण्डले स्वागत गर्दैन’ भन्दै प्लेकार्डसहित नारा लगाइरहेका उनलाई बैठक कक्षबाहिरबाट सुरक्षागार्डले निकालेका थिए। 

प्रकाशित मिति: : 2025-04-04 17:50:00

प्रतिकृया दिनुहोस्