८ वर्षदेखि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा काम गर्दैआइरहेकी थिइन् गोपिनी दंगाल।
त्यही कम्पनीमा काम गरेर उनले घर चलाइरहेकी थिइन्। तर अब उनको त्यो रोजीरोटी पनि खोसिने अवस्था छ।
सदाझैं उनी शुक्रबार पनि काम सकाएर साढे दुई बजेतिर घर निस्किइन्। कामबाट फर्किदैगर्दा उनले सडकमा ‘राजा ल्याउने’ भन्दै कराइरहेका मानिसहरूको बाक्लै भीड देखिइन्।
त्यो भीडलाई छिचोल्दै दंगाल घर पुगिन्। बिना कुनै त्रास।
तर घर पुगेपछि उनले दुखलाग्दो खबर सुनिन्। उनको कर्मथलो अर्थात् जडीबुटी कम्पनी तोडफोड भइसकेको थियो। त्यतिमात्र होइन कम्पनीमा आगजानी पनि भएको थियो।
शुक्रबार साँझ आगोजसरी फैलिएको समाचार सुनेर विरक्तिएकी गोपिनी भन्छिन्, ‘हामी बेरोजगार हुने भयौं।’
जडीबुटी कम्पनीमा काम गरेर दुई छाक टारिरहेकी उनलाई अब काम खोसिन्छ कि भन्ने डर छ।
‘छोराको स्कूल भर्ना गर्ने बेला भइसक्यो। अब कसरी भर्ना फ्रि जुटाउनू’, भक्कानिदैं उनले भनिन्, ‘हाम्रो सबै भवन फुटिसकेको छ। कहाँ बसेर काम गर्ने? हामी कामदार बेरोजगार भयौं भने कसरी परिवार पाल्ने? हाम्रो बारेमा कसले सोच्ने? हामीलाई हातमुख जोड्ने व्यवस्था मिलाइदिनुपर्छ।’
000
शुक्रबार जडीबुटी कम्पनीमा तोडफोड र आगजानी भएपछि राम्रोसित निदाउन सकेकी छैनन् सुन्तली रोका।
अब के होला? भन्ने सोचले उनलाई पिरोलिरहेको छ।
८ वर्षदेखि जडीबुटी कम्पनीले घर खर्च धानिरहेकी थिइन् सुन्तलीले। अब त्यो कामबाट बेरोजगार भइन्छ कि भन्ने उनको डर छ।
नहोस् पनि कसरी? उनलाई रोजीरोटी दिलाइरहेको कम्पनी ध्वस्त पारिएको छ।
‘हिजो त्यो दुर्घटनाबाट त बचें तर मनभित्रको घाउ कसले देख्छ?’, उनी भन्छिन्, ‘हामीलाई अरू केही चाहिँदैन। हामीले काम गर्ने अवस्था हुनुपर्छ।’
राजावादीका ‘कमाण्डर’ बनेका दुर्गा प्रसाईंले गरेको आन्दोलनको कारण आफ्नो जागिर खोसिने अवस्था रहेको बताउँदै उनी भन्छिन्, ‘हामीलाई न्याय चाहिन्छ।’
000
जडीबुटी कम्पनीमा २०५५ सालदेखि चालकको काम गर्दैआइरहेका छन् हरिप्रसाद चौलागाईं। उनी पनि शुक्रबारको आन्दोलनले स्तब्ध छन्।
करिब तीन बजेतिर उनी कार्यालयमा थिए। त्यहीबेला प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थाले। त्यो ढुंगा प्रहारबाट त उनी बच्न सफल भए तर आफूले २६ वर्षसम्म काम गरिरहेको कम्पनीलाई बचाउन सकेनन्।
उनको आँखा अगाडि नै कर्मथलो जडीबुटी कम्पनीमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार र आगजानी गरिरहे। उनी परै बसेर टुलुटुली हेरिरहे। काँपिरहेका दुई खुट्टा समाएर।
‘जुङ्गाको रेखी नहुँदै म यो कम्पनीमा आवद्ध भएको थिएँ। धेरै लगाव छ कम्पनीसँग तर हिजो विवश भएर हेर्नबाहेक अरू केही गर्न सकिनँ’, उनी भन्छन्, ‘ज्यान त जोगियो तर कम्पनी बचाउन सकिएन।’
उनका अनुसार कम्पनी ध्वस्त छ। काम गर्ने अवस्था पनि छैन। तर उनलाई एउटै कुराको डर छ। कामदारहरू बेरोजगार हुने होकि!
‘विभिन्न प्रदेशसहित करिब सात सय जनालाई रोजगारी दिइरहेको कम्पनीले काठमाडौं उपत्यकामा मात्र करिब ५० जनालाई रोजगारी दिइरहेको थियो’, कम्पनीका कर्मचारी संघका अध्यक्ष समेत रहेका चौलागाईं भन्छन्, ‘अब के होला थाह छैन। तर कर्मचारीको रोजीरोटी खोसिनु हुँदैन। कामदारहरूले बेरोजगार हुनु हुँदैन।’