सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको बताएका छन्।
शनिबार काठमाडौंमा बीआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बीआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रुपमा पनि रहेको भन्दै यसले सम्बन्धहरू अझै बलियो हुदै जाने बताए।
उनले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुपमा रहदैँ आएको छ। नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी छन्। बीआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ। यो नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरू खोल्ने अवसरको रुपमा लिनुपर्छ।’
उनले नेपालको दिगो विकासको लागि पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको भन्दै नेपालमा रहेका लगानी र सम्भावनाहरूलाई पहिचान गरी बीआरआई अन्तर्गत नयाँ परियोजनाहरूलाई प्राथमिकता दिनुपर्ने बताए।
दुईदेशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउन आजको कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरामा पनि विश्वस्त रहेको उनको भनाई छ।