देशभरिबाट काठमाडौंमा आन्दाेलन गर्न आएका शिक्षकहरूले आज एमाले पार्टी कार्यालय घेराउन गर्ने भएका छन्।
केही दिन माइतीघरमा बसेर प्रदर्शन र धर्ना बसेका उनीहरूले मंगलबारदेखि पार्टी कार्यालयहरू घेराउ गर्ने रणनीति लिएका छन्।
शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घकाे अगुवाईमा यति बेला देशभरिका शिक्षक सडक आन्दाेलनमा छन्।
मंगलबार उनीहरूले नेपाली काँग्रेसकाे पार्टी कार्यालय घेराउ गरेका थिए।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। यसअघि ०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूर्वसन्ध्यामा शिक्षकहरू अध्यापन छोडेर आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित हुने भएको छ। त्यस्तै शैक्षिक सत्रका अन्तिम परीक्षाको तयारी गर्नुपर्ने शिक्षकहरू पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि शैक्षिक सत्रसमेत प्रभावित भइरहेकाे छ।