सरकारले ल्याएको सामाजिक संजालसम्बन्धि विधेयकमा राखिएका प्रावधानहरूप्रति आपत्ति जनाउँदै अनलाइन टीभी पत्रकार संघ, नेपालले विरोध प्रदर्शन गरेको छ।
आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनमा बोल्दै अनलाईन टीभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि सरकारको आलोचना गर्न नपाउने भएकाले विधेयक तत्काल खारेज गर्नुपर्ने बताए।
उनले सामाजिक सञ्जाल विधेयक तत्काल खारेज गर्न अनलाईन टिभी पत्रकार संघले देशव्यापी रुपमा आन्दोलन घोषणा गरिसकेको समेत बताए।
उनले भने, ‘यस्तोखाले नियम कानून लागू भयो भने तपाईं हामी कसैले पनि आलोचना गर्न पाउँने छैनौं। सत्तामा रहेका मान्छेहरूको आलोचना गर्न पाउँदैनौं। कसैले सरकारको विरुद्धका पोस्टहरूमा लाइक मात्र गर्नु भयो भने पनि पाँच वर्ष जेलमा बस्नुपर्ने छ। पाँच लाख भन्दा बढी धरौटी तिर्नुपर्ने छ।’
यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक सञ्जाल विधेयक ल्याउने फुच्चे खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन्। उनले यो अधिनायकवादी विधेयक फूच्चे खेल हो भन्दै सबै दलहरूलाई बन्द गर्न चेतावनी समेत दिए।
उनले भने, ‘जब जब सत्तामा आउनुहुन्छ, तब जनताको अधिकार कटौती गर्न खोज्नुहुन्छ। नागरिकको स्वतन्त्र अधिकारलाई विधेयकले खोस्न खोज्दैछ। गठबन्धनमा बसेका अरु राजनीतिक दलहरूलाई पनि म चेतावनी दिन चाहन्छु- तपाईंहरूको यस्तो अधिनायकवाद ल्याउने जुन फुच्चे खेल हो यो सफल हुनेवाला छैन्। तत्काल यो फिर्ता लिनुस्।’
संघले आजको विरोध प्रदर्शनमा आलोचना गर्ने अधिकार खोस्न पाइँदैन, होसियार, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनी गरेका हुन्।
सरकारले ल्याएको यस विधेयकको चौतर्फी आलोचना भइरहेको छ।