अहिलेकाे सरकारले विधेयकलाई कानूनमा परिणत गरिरहेकाे छ: प्रकाशमान सिंह

फाइल तस्बिर
फाइल तस्बिर

उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरूलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरूलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्।

बुद्धनगर टोल सुधार समितिको २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरू भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताए।

उनले भने, ‘अहिले जुन सरकार बनेको छ। यो सरकारले खास गरेर विधेयकहरुलाई कानूनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ। ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौं। तर अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ। यसमा बुझ्नु पर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ।’

यसका साथै, उनले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताए।

प्रकाशित मिति: : 2025-01-25 13:16:00

प्रतिकृया दिनुहोस्