मरिगएँ त मरिगएँ नत्र भोलि लगिदिनू है?

हेमन्त विवश

काठमाडौँ
Break n Links
Break n Links

वितेको साल समय थाहा छैन। तर, त्यतिखेरका हरेक दृश्य नाचिरहन्छन् आँखामा। गाउँमा चाडपर्वको बेला गीत जान्ने र गाउने कला भएकी महिला उनी मात्रै थिइन। ती दिन खै कता गए, घर अगाडीको तोरीबारी हेरेर आफैंसँग प्रश्न गरिरहेकी हुन्छिन् धनगढी उपमहानगरपालिका–६, जाली गाउँकी पर्देशीनी चौधरी। 

अचेल एकातिर मृत्युको डर छ। अर्कोतिर दिकदारी बढेको बेला अब त मर्न पाएँ हुने थियो भन्ने पनि लागेकै हुन्छ मनमा। कस्तो दोधारमा उभिदिन्छ जिन्दगी। उनलाई थाहा छैन यो उकुसमुकुस थपिरहने यही जिन्दगी हो या समय।

यसो विगततिर फर्किन्छिन् सबै दृश्य दिमागमा सलबलाउँछन् तर कहिल्यै सम्झनामा आउँदैन आमा बुबाले बताएको जन्ममिति र विवाह भएको वर्ष। उनलाई थाहा छैन कति सालमा जन्मिए र कति सालमा विवाह भयो भन्ने कुरा।

बरु थाहा छ विवाह भैसकेपछिका कैयौं वर्ष अरुकोसामु लोग्नेसँग बोल्न नसकेको कुरा। हरेक वर्ष माघीमा गीत गाउँदै नाच्दै रमाइलो गरेका दिन। घरमा मौलिक परिकारहरू बनाएर सबैलाई खुवाएको क्षण, माइति गएर माघीमा रमाइलो गरेको आमाबुबाले दक्षिण दिएको त्यो क्षण।  

माघीको पूर्वसन्ध्या। गाउँमा माघी महिला महोत्सव चलिरहेको थियो। लोग्ने पर्देशी चौधरी खै गाउँतिर कता हिँडेका थिए। घरमा एक्लै थिइन उनी। डिजे बज्दा सुनिएको थारु भाषाको गीतले मन बिचलित तुल्याइरह्यो। उनी पनि पुराना दिन सम्झिँदै एक्लै सकिनसकि गुनगुनाइ रहिन्: सखिया हो।

नागरिककर्मी पुष्पराज जोशी र मलाई आँगनमा देखेपछि लौरीको सहारामा उनी आँगनसम्म पुगिन्। थरथर काँपिरहेको ज्यानलाई लठ्ठीको सहाराले मात्रै टाढासम्म पुर्‍याउन सक्षम थिएनन् पाइला। सखिया गीत गुनगुनाएको सुनेपछि प्रश्न तेस्र्याएँ, मेलामा जान मन लाग्दैन? लाग्छ, मलाई त्यहाँसम्म पुर्‍याइ देऊ न। उनको अवस्था देखेर भन्यौं अहिले हैन। भोलि माघीको दिन रमाइलो हुन्छ भोलि नै तपाईंलाई त्यहाँसम्म लगिदिन्छौं है। केही समय मौन बनेर पुन बोलिन् मरजिम त मरजिम नै तो काल लेहेआइ हो।

हरेक पल अब त मर्न पाए नि हुन्थ्यो भन्ने उनको सोचलाई यस्ता चाडपर्व र मेलाले परिवर्तन गरिदिन्छ। यो मेला लागुञ्जेल अर्थात् यो चाड नसकिन्जेल बाँच्न पाए हुन्थ्यो भन्नेमा पुर्‍याइदिन्छ। यसबाट सजिलै अनुमान गर्न सकिन्छ हाम्रा चाड पर्वको शक्ति र गरिमाका बारे।

तर, ती चाडपर्वहरू पनि पछिल्लो समयमा सजिलो अवस्थामा कहाँ छन् र। तिनी भित्र पनि कतिपय सजिलै सास फेर्ने मन छन् भने कतिपय मनले सकिनसकी सास फेरिरहेका छन्। त्यो सास फेराइ भन्नु नै त्यो समाजमा आइपुगेको आधुनिकीकरण हो। परिवर्तन हुँदै गइरहेको नयाँ पुस्ता र परिवर्तन हुन नसकिरहेका पुराना पुस्ताका केही मानिसका बीचको अवस्था हो। हरेक भूगोलमा, हरेक समाजमा पछिल्लो समयको समस्या भन्नु नै त्यहीँनेर छ। 

एकातिर बिज्ञान र प्रविधिको युग छ। नयाँ पुस्ताले त्यसको उपयोग गर्ने नै भयो। अर्कोतिर गाउँको खेतियोग्य जमिन घडेरीमा परिणत भएपछि विभिन्न समुदायका मानिसको साझा थलो भैदियो गाउँ। जहाँ नयाँ पुस्ताले एकअर्काको अनुकरण गर्न थाले। अनि बिस्तारै लोप हुँदै जान थाल्यो मौलिकता।

यही मौलिकता बचाउने उद्देश्यले अचेल गाउँमा एक दुई दिनलाई भए पनि मेला महोत्सवको आयोजना हुन थालेको बताउँछन् बेदप्रकास चौधरी।वेदप्रकासका अनुसार पुराना धेरै कुरा हराउँदै गइरहेका छन्। उनी बताउछन्, ‘तिल्की, सौठे, पुरानो अण्डी लगायतका कैयौ रैथाने धानबाली लोप हुँदै गए। लोग्ने स्वास्नी बीच त्यतिबेलाको जस्तो प्रेम देखिदैन। जडीबुडी प्रयोग गरी घरमै बनाइने रक्सीको ठाउँ ह्वीस्कीले लिइसक्यो। समाजमा राजनैतिक बिचार हावी हुँदै गए भछि ठुलाबडालाई गरिने सम्मान, आत्मीयता, सरसहयोग लगायतका धेरै कुरामा चिन्ताजनक अवस्था देखापरिरहेको छ तथापि आफ्नो संस्कृति सभ्यताको जगेर्नाका निम्ति हामी लागिपरेकै छौं।’ 

जंगलको छेउमा खाली जमिन छ। त्यही झुण्ड्याइएको थियो जाली गाउँ माघी महिला महोत्सव लेखिएको ब्यानर। महोत्सवका संयोजक तुलाराम चौधरी कसरी कार्यक्रको रौनक बढाउन सकिन्छ भन्नेमा मनन् गरिरहे जस्ता देखिन्थे। तुलारामका अनुसार महोत्सवको उद्देश्य भन्नु नै गाउँसमाज मिलेर आफ्नो कला,, सहित्य संस्कृति बचाउनु पर्छ भन्ने थियो। 

अफ्नो मौलिक पोशाकमा सजिसजाउ देखिन्थे महिलाहरू। तर, पुरुषहरू भने धोति लगाउन जान्ने जस्ता कोही देखिएनन्। वेदप्रकास बताउछन्, मलाई पनि आउँदैन धोती लगाउन। लगाउन सिक्ने रहर छ। कसैले लगाउन नमानेपछि कतै एक्लै हुन्छु कि भन्ने पीर लागिरहन्छ। निकै गाह्रो छ। 
उसो त चौधरी समुदायमा यतिबेला दुई तीन दिनसम्म मौलिक परिकार पकाउने, खाने मान्यजनहरूलाई ढोग्ने देखि गानाबजानाका साथ रमाइलो गर्ने चलन पुरानै हो। 

माघे संक्रान्ति थारुहरूको नयाँ वर्ष पनि हो। संक्रान्तिका दिन बिहान चारपाँच बजे तिरै धमार गीत गाउँदै नदीमा नुहाउन जाने चलन छ। उक्त दिन नदीमा नुहाउँदा गंगा मातालाई दक्षीणास्वरुप पैसा चढाएर मात्रै नुहाउनु पर्ने मान्यता छ। नुहाइँ सकेपछि नदी किनारमा आगो बाली आगोमा तिल राखी ताप्ने चलन छ। तिलको दाना जत्रो मसिनो पाप पनि नाश हुने मान्यता र विश्वास अनुरुप आगोमा तिल राख्ने गरिन्छ।

माघे संक्रान्तिमा मासु खान हुने भए तापनि मार हान्न नमिल्ने मान्यता अनुरुप पौस मसान्तकै दिन बंगुर, कुखुरा काट्ने गरिन्छ। 

माघे संक्रान्ति थारु समुदायको आर्थिक वर्षको सुरुआत पनि हो। सामाजिक अभियन्ता रामदास चौधरी सम्झिन्छन्, ‘विगतमा दाजु, भाइ छुटिनलाई पनि माघी नै कुर्नु पर्ने हुन्थ्यो। वर्षभरी गरिएका कामको समीक्षा र नयाँ वर्षमा गर्नुपर्ने कामको योजना पनि माघीमै तय गर्ने गरिन्थ्यो। समुदायमा बसोबास गर्नेहरू बिभिन्न पेशाका मान्छे एकठाउँमा जम्मा भई आफ्नो पेशागत कार्य गर्दाको ज्याला बढाउने नबढाउने भन्ने कुराको छलफल गर्ने कार्य त्यतिबेलै गरिन्थ्यो। अझैं भन्नुपर्दा घरदेखि समाजसम्मको सिंहावलोकन गर्ने काम माघी मै हुन्थ्यो।’ 

गेजी, ताडल, तिलको लड्डु, सुङ्गुरको मासु, ढिक्री, अनादी चामलको भात, बिभिन्न प्रकारका तरकारी, घोगी, सिद्रा, रक्सी, जाड आदि परिकार बनाइने यस पर्वमा माघीको गीत गाई नाचगान गर्दै घरघरमा गई माघी मनाउने गरिन्छ। मान्यजनलाई अनिवार्य रुपमा ढोग्नु पर्ने भएकाले वर्षभरि बोलचाल नभएकाहरूसँग बोलचाल गर्ने दैलो पनि उघ्रिन जान्छ माघीमै। यसरी बिभिन्न कोणबाट हेर्दा थारु समुदायमा माघी पर्वको रौनक विशेष नै रहेको पाइन्छ।

मानव सभ्यताभित्र हरेक जातजाति र समुदायको आ–आफ्नै संस्कार, संस्कृति र परम्परा रहेको पाइन्छ। तिनमा आफ्नै खालको विशेषता पनि छ । थारु समुदाय धार्मिक र संस्कृतिका हिसाबलेसमेत निकै वैभवशाली ठानिन्छ। विगतमा समाजमा छुट्टै रौनक थपिरहेको यस समुदायको संस्कृति पछिल्लो समय युवापिँढीमा हस्तान्तर हुन नसक्दा र आधुनिकिकरणसँगै अरुको देखासिकि गर्दै गर्दा केही चालचलनहरू लोप भैसके भने केही परिमार्जित पनि भएका देखिन्छन्। 

७७ वर्षीया तेजराम चौधरी पर्देशीनीका सम्धी हुन्। यो समुदायमा सम्धी सम्धिनीले एकअर्कालाई छुन मिल्दैन। टाढैबाट रामराम वा सीताराम भन्छन्। तेजराम पनि पुराना दिन सम्झिदै सनाउँछन्, ‘माघी त पुरानै राम्रो। उतिखेर आफैं नाचगान गथ्र्यौ अहिले माइक बजाउँछन्। कस्तो मिलेको समाज हुन्थ्यो। कति रमाइलो हुन्थ्यो।’

तेजरामले भनेझैं अग्रजहरूको रमाइलो सम्झनामा सिमित छ भने। नयाँ पुस्ताको रमाइलो दिनप्रतिदिन थपिदै गइरहेको छ। तेजरामहरू गएका दिन कहाँ पाउनु भन्दै बताउँछन्, ‘अब हाम्रो त विदा हुने समय आइसक्यो। हामीले हेर्दाहेर्दै रंगरमाइलो, सरसहयोग, मायाप्रेम सबैलाई लुटिसक्यो पैसाले।’

समय अनुसार संस्कृतिमा पनि परिवर्तन भैरहन्छ र हुनु पनि पर्दछ। संस्कृतिभित्र देखापर्ने रुढिवादी क्रमशः हराउँदै जानुपर्छ। तर, त्यससँगसँगै अन्य कतिपय महत्वपूर्ण कुराहरू पनि हराएर जान थालेका छन्। जुन चिन्ताको विषय पनि हो। 

आजका दिनसम्म आइपुग्दा मान्छेले धेरै विषयमा अध्ययन अनुसन्धान गरिसक्यो। तर मान्छेले व्यापक रुपले मान्छेकै मनको अध्ययन अनुसन्धान गर्न सकेको छैन। यो मनले कतिखेर के खोज्छ र कहाँ पुग्छ भन्ने विषय निकै जटिल पनि छ। त्यहीँ मनलाई वसमा पार्न सफल भैदिन्छन् हाम्रा संस्कृतिका पाटाहरू।

त्यसैले त कतै मादल बजेको सुन्नासाथ पर्देशीनी चौधरीलाई घरमा बस्न मन लाग्दैन। उडेर त्यहाँ पुग्न पाए हुन्थ्यो ठान्छिन्। आइजान्छ पुराना दिनको याद। सपनामा पनि देख्छिन् रे ती दिनहरू। नाचगान रंगरमाइलो भनेपछि लाग्दैन मर्न मन पनि। यसरी तनमनमा ऊर्जा भरिदिन्छ संस्कृतिले नै।

त्यसैले त छुट्टिने बेला भनेकी थिइन्, अहिले त आफ्नो पोशाक पनि लगाएको छैन्। यस्ती बनेकी छु। भोलि कपडाउपडा लगाकर जाने थिएँ मेलामा। ले हे हो ना? (लगिदिन्छौं नि अर्थात् मलाई त्यहाँसम्म पुर्‍याइदिन्छौँ नि?) हामीले उनलाई भोलि आएर मेलामा पुर्‍याइदिने सहमति जनाएपछि एकछिनलाई उनका काँपिरहेका हातखुट्टा शान्त भए। चेहरामा छुट्टै आभा देखियो। अनि गुनगुनाउन थलिन्, काशी लहैनु हो, अयोध्या लहै नु ........... सखिया हो ......

यस्ता कैयौ पदेशीनीहरूको मनको ओखती भन्नु नै हाम्रा चाडपर्व हुन्। हाम्रो संस्कृति हो। जहाँ जीवनको सुन्दर लय भेटिन्छ। 

प्रकाशित मिति: : 2025-01-14 18:35:00

प्रतिकृया दिनुहोस्