राजाको रोइलो : नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो

Break n Links
Break n Links

नेपालमा फेरि एकपटक राजाको बेमौसमी बाजा मज्जैले बजेको छ । बाजा बजाउनेहरू एउटा कित्तामा मात्र छैनन्, दुवै कित्तामा छन् । एकातिरका बाजा बजाउनेहरू ‘राजा आउँछन्’ भनेर दमाहा बजाइरहेका छन् । अर्कोथरि काउन्टरमा राजा आउँदैनन् भन्दै टेम्को ठोक्दैछन् ।

‘राजा आउँछन्’ भन्ने दमाहा बजाउँदा पनि राजा बज्छ, ‘राजा आउँदैनन्’ भनेर टेम्को ठोक्दा पनि राजा बज्छ । यसरी दुवैतिरबाट राजा बज्दा टाढाटाढासम्म पनि राजा प्रतिध्वनित हुनु स्वाभाविक हो । हुँदाहुँदा त्यो प्रतिध्वनि घरदेश काटेर टाढाको परदेश अमेरिकासम्म पनि आइपुगेको छ । यताका सक्रिय नेपाली सञ्जालकर्मीका पछिल्ला पोस्ट हेर्दा त्यस्तै लाग्छ ।

नेपालमा राजा गएको दिनदेखि नै राजा आउँछन् भनेर विश्वास गर्नेहरूको सानै सङ्ख्यामा सही, अस्तित्व बाँकी नै छ । सुरुको भन्दा अहिले त्यो सङ्ख्या अलि बढेको हो कि जस्तो देखिँदै छ । पछिल्ला केही वर्षयता ‘राजा आऊ देश बचाऊ’ भन्दै हिँड्नेहरूसमेत भेटिन थालेका छन् । यो त्यसैको संकेत हो ।

यसरी नारा लगाउनेमध्ये धेरैले नेपालका अन्तिम राजा भनिएका ज्ञानेन्द्रको संवैधानिक र सक्रिय दुवै राजतन्त्र देखेका छन् । पञ्च वा दरबारिया कलेबरमा त्यसको मज्जा पनि लुटेकै हुन् । त्यसरी मज्जा लुट्नेहरूमध्ये केहीले बीचमा नयाँ कित्तामा आएर पनि फाइदा लुटे । केही लुट्न नपाएर छटपटिए । कोही त सदाबहार लुटेरा नै छन् । यो वा त्यो कित्तामा जहाँ रहे पनि, उनीहरूको कर्म–धर्म लुट्नु थियो, लुटे ।

यी लुटेराहरू हिजो राजाको चरण कमलमा साष्टाङ्ग दण्डवत गर्दै लुट्थे । यिनीहरूको मुखमा रामराम हुन्थ्यो, बगलीमा छुरा । बाहिर ‘श्री ५ महाराजाधिराजको– जय जय जय’ लेखेपछि भित्र जे गर्न पनि छुट थियो यिनीहरूलाई ।

राजतन्त्र गएर गणतन्त्र आयो, त्यसअघि नै संवैधानिक राजतन्त्रमा राष्ट्रिय प्रजातन्त्र नामको नक्कली प्वाँख लगाइसकेका यिनले गणतन्त्रमा पनि त्यही लगाएर लुटे । यसपटक उनीहरूलाई ओत दिन ओली, प्रचण्ड, नेपाल, देउवा नामका नयाँ राजाहरू थपिसकेका थिए । जो प्रधानमन्त्री भए पनि यी दोग्लाहरूको भागमा एक थान उपप्रधामन्त्रीसहित केही थान मन्त्रीहरू भाग लागे ।

अहिले ‘राजा आऊ देश बचाऊ’ भनेर चिच्याउने राजेन्द्र लिङ्देन प्रचण्डको र कमल थापा ओलीको उपप्रधानमन्त्री थिए । अझ कमल थापाको त के कुरा गराइ भो र ?, ज्ञानेन्द्रका गृहमन्त्री भएर लोकतन्त्रमाथि कुञ्जा चलाउने उनी पछिल्लो आमचुनावमा ओलीको कृपाले एमाले उम्मेदवार नै बने । राजेन्द्र लिङ्देन पनि ओलीकै कृपाले एमाले मत पाएर संसद् छिर्ने ‘भाग्यमानी’ हुन् ।

समग्रमा ‘राजा आऊ, देश बचाऊ’ भन्नेका नाइके थापा र लिङ्देनलाई चारो हाल्ने काम गणतन्त्रका सबै मसिहाले गरे । त्यसको पनि रोलक्रम बनाउने हो भने सबैभन्दा शीर्ष स्थानमा केपी ओली पर्छन् । ओलीले थापालाई सूर्य चिह्न दिएर मकवानपुर–२ बाट एमाले उम्मेदवार बनाएका थिए भने लिङ्देनलाई झापा–३ मा एमाले उम्मेदवार नउठाएर तालमेलको चिट्ठा पारिदिए ।

अहिले तिनै ओली विभिन्न भनाइ कथी–कथी आफैँले लिङ्देन र थापालाई दिएको दमाहाको काउन्टरमा राजा आउँदैनन् भनेर टेम्को बजारहेका छन् । उनले यी दमाहा बजाउनेलाई दया लागेर दमाहा थम्याएका हैनन्, आफ्नो चुनाव क्षेत्र झापा ५ मा राजावादी राप्रपाको मतले आफ्नो जीत सुनिश्चित गर्न त्यसो गरेका हुन् । यसमा थापा–लिङ्देनप्रतिको दयाभन्दा पनि आफ्नो स्वार्थको रक्षा थियो ।

ओली आफ्ना लागि मात्र सोच्ने एक कुटिल र स्वार्थी नेता हुन् । आफ्नो दुनो सोझ्याउन उनी जे पनि गर्न तयार हुन्छन् । त्यसो गर्दा उनी पार्टी, जनता, देश, सिद्धान्त, मूल्य, मान्यता सबै तिलाञ्जली दिइरहेका हुन्छन् । यही हो, ओली प्रवृत्ति भनेको । पहिला ओली पात्र थिए, अहिले यो प्रवृत्ति नै भइसक्यो । त्यही सिको गरेर अहिले नेपालमा देउवा, प्रचण्ड, नेपाल, लामिछाने आदि–इत्यादि नामका अनेक संस्करणका ओली प्रवृत्तिको जगजगी छ ।

यही प्रवृत्तिको काउण्टरमा उभ्याइएको पात्र हो, राजा । न्यूटनको गतिको तेस्रो नियमले भन्छ, हरेक क्रियाको बराबर प्रतिक्रिया हुन्छ तर विपरीत दिशामा । अहिलेका तीन टाकुरे राजाहरू ओली, देउवा र प्रचण्डले दिएको क्रियाको विपरीतमा राजाको प्रतिक्रियाको कुरा उठेको हो ।

यो विपरीत दिशामा छ, तर अहिले नै बराबरी भएको स्थिति हैन । तर, त्यो क्रम बिस्तारै बढ्दो छ । अहिले नै ‘आखिर ओली, देउवा, प्रचण्ड, नेपाल, लामिछाने थरका नानाभातीका टाकुरेर राजा मान्नुपर्ने हो भने किन एउटै राजा नमान्ने ? जे भए पनि यी राजा भनाउँदाका पुर्खाकै नेतृत्वमा आर्जेको मुलुक त हो नि नेपाल’ भन्ने स्वर राम्ररी नै सुन्न थालिएको छ ।

यो क्रम बढ्दै गयो भने एक दिन त्यो स्थिति नआउला भन्न सकिन्न । आखिर असम्भव भन्ने कुरा यो संसारमा केही छैन भन्ने धेरैपटक प्रमाणित भइसकेको छ । अझ, ‘राजनीतिमा त न कोही स्थायी शत्रु हुन्छ न मित्र’ भन्ने भनाइ पनि लागू भएकै छ । त्यसको जबरजस्त उदाहरण हो, आजको अमेरिका ।

नैतिकताको कुरा गर्ने देशमा ३४ फेलोन राष्ट्रपति छन्, पद्धतिको कुरा गर्ने देशमा विधिले हैन, आदेशको शासन छ । यो असम्भव केही नभएको दृष्टान्त हो । अनि, अमेरिकाका जी सेभेनका सदस्य युरोपेली देश र क्यानाडा शत्रु भएर रूस, उत्तर कोरिया, इरान मित्र भएको अवस्था हो । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने यो भन्दा गतिलो ज्यूँदोजाग्दो उदाहरण के हुनसक्छ र ?

यो स्तम्भकार राजतन्त्रविरूद्ध गणतन्त्रका लागि सानो भए पनि योगदान गरेकै व्यक्ति हो । मलाई अझै पनि नेपालमा कहिल्यै राजतन्त्र फर्कँदैन भन्ने नै लाग्छ । यसको पछाडि मेरो पृष्ठभूमि र त्यसको आधारमा बनेको आग्रह– पूर्वाग्रहले काम गरेको हुनसक्छ । तर, त्यति मात्रै पनि हैन । त्यसका केही वस्तुनिष्ठ आधार पनि छन् ।

पहिलो त पूर्वराजा कुनै पाल्की वा रथ चढेर दरबारमार्ग हुँदै नारायणहिटी छिर्न सम्भव छैन । कथमकदाचित छिरे पनि त्यो बढीमा हेर्नलाई होला, सिंहासनमा बस्नलाई हुन्न । उनलाई सिंहासनमा चढाउने गरी नारायणहिटी छिराउन आन्तरिक र बाह्य दुवै शक्तिको जोडबल चाहिन्छ, त्यो पनि उनलाई आउन नदिनेभन्दा तागतदार जोडबल । अहिले नै त्यो तागत कतै पनि देखिँदैन ।

आन्तरिक शक्तिको कुरा गर्दा, राजनीतिक शक्ति र सैनिक शक्तिको कुरा आउँछ । राजनीति शक्ति भनेको संस्थागत रूपमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा नै हो । यसलाई संघ र प्रदेश संसद्मा जुन स्थान मिलेको छ, त्यो पनि ओलीको चुनावी तालमेलको कृपाले मात्रै सम्भव भएको हो ।

सबैतिर शून्य भएका कमल थापाको राप्रपामा नेपाल थपिएको पार्टी त छ, तर शक्ति भने शून्य बराबर नै हो । केही राजावादी धार्मिक झुन्डहरू छन्, त्यो विष्णुको अवतार भनेर स्वस्तिपाठ गर्नलाई मात्र काम लाग्ने अवस्थाको छ । यो सबै मिलाउँदा पनि पूर्वराजालाई पाल्की चढाएर नारायणहिटी छिराउन त के ?, दरबारमार्गसम्म पु¥याउन पनि पर्याप्त छैन ।

दोस्रो, आन्तरिक शक्ति भनेको सैनिक हो, त्यहाँ अहिले राणा, शाहजस्ता दरबारिया ठकुरीहरू सलाम खाने हैन, सलाम गर्ने ठाउँमा पुगिसके । कुरै गर्ने हो, अहिले जंगीअड्डामा सिग्देल थरका सुप्रिमो छन् । यो मात्रै हैन अरू पनि थुप्रै कारण जंगीअड्डामा उपस्थित भइसकेका छन्, अब नेपाली सेना राजा ल्याउन तयार पनि छैन र सक्दैन पनि ।

बाह्य शक्तिको कुरा गर्दा, त्यस्तो हरियो झण्डा देखाउने सम्भावना र शक्ति भएको भारतमात्रै हो । भारतमा पनि दक्षिणपन्थी भारतीय जनता पार्टी त्यसका लागि सम्भावित शक्ति हुनसक्छ । तर, त्यसको मुखिया नरेन्द्र मोदी त्यसका लागि तयार छैनन् । पहिला शक्तिशाली हुँदा त आँट गरेनन्, अहिले आफैँ बिस्तारै शक्ति गुमाइरहेको छन् ।

शायद मोदीबाट नहुने देखेर होला, अहिले राजावादीहरू उत्तर प्रदेशमा खुम्चिएर योगी आदित्यनाथको तस्बिर बोक्ने अवस्थामा खुम्चिएका छन् । यो आफैँमा एक गरिबीको दृश्य हो । एकातिर यस्तो गरिब दृश्य, अर्कोतिर त्यसका लागि चाहिने नेपालको आन्तरिक शक्तिको बल र बाँकी विश्वको साथ र समर्थनको अभाव प्रस्टै छ । यस्तो अवस्थामा त्यस्तो सम्भावना नै बाँकी रहन्न ।

कुरा आन्तरिक र बाह्य पक्षको मात्र हैन, पृष्ठभूमिको पनि हो । नेपालको राजसंस्था राजाले चाहेर गएको हैन, एउटा जबरजस्त विद्रोहमार्फत बिदा गरिएको हो । राजाका रूपमा प्रक्षेपण गरिएको व्यक्ति ज्ञानेन्द्र अनि उनीमार्फत प्रयोग भएको राजतन्त्र नेपालमा गलत साबित भएर जनविद्रोहमार्फत हटेको हो । आजको समयले मात्र हैन, प्रयुक्त राजनीतिक सिद्धान्तले पनि नयाँ सक्रिय राजतन्त्र स्थापनाको स्कोप दिँदैन ।

प्रश्न राजा ल्याउने मात्र पनि हैन, किन ल्याउने भन्ने पनि हो ? सक्रिय राजा ल्याउने कुरा त अब सपनामा पनि नसोचे हुन्छ । बढीमा हुने भनेको संवैधानिक राजा होला, त्यो भनेको अहिलेको राष्ट्रपति जस्तै खोपीको देउता नै हुने हो । त्यो रूपमा राजा ल्याउनको न कुनै अर्थ छ, न उपादेयता । ल्याउन चाहने र आउँछु भनेर खुट्टा उचाल्नेको अनिष्ट पनि खोपीको देउता हैन ।

त्यसैले राजा आउँछन् भन्नेको दमाहा होस् वा त्यसको काउन्टरमा राजा आउँदैनन् भन्नेको टेम्को, यी दुवै बेमौसमी बाजा मात्र हुन् । न ‘राजा फेरि आउने कुरामा राजा ल्याउँछु भन्नेलाई विश्वास छ, न आउन चाहने राजामा त्यस किसिमको आत्मबल । यी राजा त विशुद्ध व्यापारी हुन् । उनको व्यापारिक साम्राज्यमा सरकारले अलिकति धावा मात्र बोले पुग्छ, यिनी निर्मल निवासमा चुपचाप थन्किनलाई ।

थप अप्ठ्यारो प¥यो भने राजा ल्याउँछु भन्नेहरूलाई नै चुप लाग्न साउती गर्छन् । यिनी आफैँमा एक दुःखी आत्मा पनि हुन् । भएका दुई छोराछोरीबाट चिन्ता नै छ । छोरो त्यस्तो छ, बुहारी बिचरा । ज्वाइँ उस्तै छ, छोरी बिचरा । नाति–नातिना स्वतन्त्रताको मजा लिँदै टिकटक बनाउनै व्यस्त छन् । सम्पत्ति र परिवार– यिनका कमजोर कडी हुन् ।

हो, एउटा कुराको सम्भावना नहोला भन्न सकिन्न । त्यो के हो भने अहिलेका तीन टाकुरे राजा ओली, देउवा र प्रचण्डको यही ताल हुने हो र उनीहरूलाई नयाँ राजा बनाउन लाग्नेहरूकै जय भइरहने हो भने जनताले अर्को विकल्प खोज्न सक्छन् । त्यो भनेको राजा पनि हुनसक्छ ।

रवि लामिछानेजस्तो कुनै योगदान र हैसियत नभएको मानिसमा त मुक्तिदाताको अनुहार देख्ने नेपाली जनताले नेपाल एकीकरणको नेतृत्व गर्ने पृथ्वीनारायण शाहको रगत ज्ञानेन्द्रमा त्यो अवतार देख्न सक्छन् । त्यसका लागि उनले नयाँ दल खोलेर चुनावमा जानुपर्ने हुन्छ । त्यसो गर्दा उनले कवाड पञ्चहरूलाई बोकेर हिँड्नु हुँदैन । नयाँ पुस्ताका युवाहरूमा राष्ट्रप्रेम भरेर उतार्न सक्दा दरै प्रतिस्पर्धा हुन्छ ।

ज्ञानेन्द्रलाई राजा बनाएर ल्याउन कवाड–पञ्चहरूको क्रियाबाट सम्भव छैन, त्यो सम्भव बनाउने भनेको ओली, देउवा र प्रचण्डको कुशासनको प्रतिक्रियाबाटै मात्रै हो । यही नै हो, न्यूटनको गतिको तेस्रो नियम पनि । हरेक क्रियाको बराबर प्रतिक्रिया हुन्छ तर विपरीत दिशामा । ओली, देउवा र प्रचण्डको कुशासनसम क्रिया बराबर अहिले नै ज्ञानेन्द्रको पक्षमा प्रतिक्रिया भइसकेको छैन । अहिलेकै गतिमा यो क्रम बढ्दै जाने हो भने बराबर हुने दिन धेरै टाढा छैन ।

नेपालीमा एउटा जबरजस्त रोग छ, नौ दिनमा नौलो, बीस दिनमा बिस्र्यो । यही कारण पनि राजाको रोइलो चलेको हो । आजको सत्य त यही नै हो । तर, भोलिको सत्य फरक पनि हुनसक्छ । त्यसका लागि त समयको ऐनामै हेर्ने हो, त्यसको एक अनिवार्य शर्त छ– बाँच्नु पर्छ, अनि मात्र देखिन्छ ।

प्रकाशित मिति: : 2025-03-12 08:10:00

प्रतिकृया दिनुहोस्