मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याउने वनमन्त्री शाहीकाे आश्वासन

Break n Links
Break n Links

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकार गम्भीर भएको बताएका छन्।

झापाको मेची नगरपालिकामा मानव–हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा–१ सचिवालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव हात्ती सह–अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन्।

उनले भने, ‘झापामा यो समस्या धेरै वर्षदेखिको हो। समस्या समाधानका लागि आगामी आर्थिक वर्षभित्र विशेष प्याकेज नै ल्याइन्छ।’

उनले मानव वन्यजन्तु द्वन्द्वका कारण दिइने राहत प्रक्रियालाई पनि छिटो र सहज बनाउने प्रतिवद्धता व्यक्त गरे।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारको मात्रै नभएर संघीय सरकारको पनि सहयोग अपरिहार्य रहेको बताए।

कोशी प्रदेशका वन सचिव विशाल घिमिरेले द्वन्द्व कम गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको उल्लेख गर्दै कृषि बालीको बिमा गर्न देखिएको समस्या जानकारी गराउँदै समाधान गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए। उनले बिमा कम्पनीहरूले कृषि बालीको बिमा गर्न चासो नदेखाएको प्रसंग उल्लेख गर्दै समाधान गर्न आग्रह गरेका थिए।

पछिल्लो समय झापाको मेचीनगर नगरपालिका–४ मा द्वन्द्व कम गराउनका गरिएका प्रयासहरूलाई अन्यत्र पनि लैजान सरोकारवालाहरूले जोड दिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीले द्वन्द्व न्यूनीकरणका लागि सुरू गरिएको सोलार विद्युतीय तारबार, वैकल्पिक खेती प्रणाली, द्रूत प्रतिकार्य टोलीको परिचालनलगायतका अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने बताए।

कोषले कोशीका विभिन्न ठाउँहरूमा जनचेतना अभिवृद्धि गर्दै द्रूत प्रतिकार्य टोलीको गठन गरिरहेको कोषका कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले बताए। डिभिजन  वन कार्यालय झापासँगको समन्वयमा विभिन्न पालिकाहरूमा गठन भएका ६ वटा द्रूत प्रतिकार्य टोलीलाई क्षमता अभिवृद्धि गर्ने काम भइरहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती द्वन्द्व नियन्त्रणका लागि संरक्षण कार्ययोजना बनाइरहेको सन्दर्भ उल्लेख गर्दै सबैको सहयोगको आवश्यक रहेको बताए।

झापा क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले द्वन्द्व समाधानका लागि सबै सरोकारवालाहरूको उपस्थितीमा बनाइएको साझा धारणालाई मेचीनगरका मेयर गोपाल बुढाथोकीले संघीय र प्रदेश वन मन्त्रीहरुलाई बुझाएका थिए।

सरोकारवालाहरूसँगको छलफलपछि मन्त्री शाहीसहितको टोलीले झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्दै अन्तरक्रिया समेत गरेका थिए। उनीहरूले भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको नाका समेत अवलोकन गरेका थिए। स्थानीयवासीले विद्युतीय तारबार निर्माण र मेची खोलामा तटबन्धन निर्माण गरे हात्ती प्रवेशलाई रोक्न सकिने धारणा राखेका थिए।

मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक वर्ष ०७१/७२ देखि झापा जिल्लाका विभिन्न हात्ती प्रभावित क्षेत्रहरूमा करिब ९१ किलोमिटर सोलार विद्युतीय तारबार जडान गरिसकेको संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए। यो अवधिमा करिब ११ करोडभन्दा बढी लगानी गरिएको पोखरेलले जानकारी दिए।

कोषको कोशी संरक्षण केन्द्रका अनुसार झापा जिल्लामा २०६९ सालयता द्वन्द्वका कारण २१ वटा हात्तीको मृत्यु भएको छ। यस्तै ७२ जना मानिसहरूको हात्ती आक्रमणमा परी ज्यान गइसकेको कोषले जनाएको छ।

प्रकाशित मिति: : 2025-01-08 10:24:00

प्रतिकृया दिनुहोस्