केन्द्रीय कमिटी बैठकमा प्रचण्डको प्रस्ताव: नेकपा एस, विप्लवदेखि प्रभु साहसँग एकता गराैँ

आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)देखि प्रभु साहकाे आम जनता पार्टीसँग एकताका लागि पहल गर्ने प्रस्ताव राखेका छन्। 

बैठकपछि पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रचण्डले यी दलहरसँग एकताकाे पहल गर्ने प्रस्ताव राखेकाे जानकारी गराए।‘बैठकमा अध्यक्ष प्रचण्ड ज्यूले विभिन्न प्रस्ताव पेश गर्नु भएको छ। जसमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने पनि प्रस्ताव राख्नु भएको छ’, उनले भने।
यस्तै सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएप्रति माओवादीले आपत्ति प्रकट गर्दै विभिन्न आरोप लगाएको छ। अध्यादेश ल्याउनका लागि सरकारले संसद अधिवेशन नबोलाएको आरोप हाे। 

‘कुनै वर्ष मंसिर २८ गते संसद अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद अधिवेशन बोलाएको छैन। हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाइ भइरहेको छ’, सापकोटाले भने।

राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उनको भनाइ छ।

यसैगरी माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई-मधेस जागरण अभियान चलाउने भएको छ। सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर अभियान गर्ने प्रस्ताव राखेको जानकारी दिए।

साथै उपत्यका विशेष अभियान चलाउने पनि माओवादीले तयारी गरेको छ।

धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको हाे। 

प्रकाशित मिति: : 2025-01-05 19:31:00

प्रतिकृया दिनुहोस्