‘म अब सहन सक्दिनँ। अति भयो। म कुचो, झाडु र लठ्ठीसहितको जुलुस लिएर आउँछु। अब वारपार हुन्छ,’ आक्रोशित शिला चौधरी (जयसवाल) ले ज्वराक्रान्तझैँ बर्वराउँदै गहभरि आँशु बनाएर थपिन्, ‘हाकिम साव, कि भुक्तानी दिनुस् नत्र मलाई पासो लगाएर मार्नुस्!’
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको कार्यकक्षमा शिला चौधरीले आक्रोश पोख्ने र करुणिक बिलौना गर्ने गरिरहेकी थिइन्। अधिकृत झा आक्रोशित चौधरीलाई शान्त पार्ने प्रयास गरिरहेका थिए। त्यहीबेला हामी दुई जना पत्रकार उनको कक्षमा प्रवेश गर्यौं। अधिकृत झालाई वित्यास परेजस्तै भयो। उनले हतार हतार भन्नथाले, ‘शिलाजी अहिले घर जानुस्। भोलि १२ बजे आउनुस्। तपाईंको पैसा भुक्तानी दिन्छौँ।’ शिला भोलि आउने शर्तमा उठेर गइन्।
कार्यकक्षबाट शिला बाहिरिएपछि अधिकृत झाले अन्य दुईजना कर्मचारीसँग साउती मार्दै भने, ‘तत्काललाई दुई/तीन लाख दिएर चित्त बुझाइदिऔँ। त्यसपछि विकल्पहरुबारे सोचौँला।’
शिला र अधिकृत झाबीचको संवादले दुईजना पत्रकारलाई जिज्ञासा बढायो। उद्देलित भएका शिला चौधरीलाई पछ्याउँदै उनको पसलसम्म पुग्यौँ। त्यहाँ उनले आफ्नो पीडाको पोको फुकाइन्।
शिलाले भनिन्, ‘नगरको २४ वटै वडामा झलमल बिजुली बाल्ने भनेर मेरो पसल ‘चौधरी इलेक्ट्रोनिक्स’बाट ४४ लाखको सामान नगरपालिकाले उधारोमा लग्यो। २४ महिनाभन्दा अधिक समय बित्यो तर अहिलेसम्म एक पैसा भुक्तानी दिएको छैन। नगरपालिका धाउँदा धाउँदा पाउ खिइयो। उता साहुले खपिनसक्नु ताकेता गरेका छन्। बैंकले व्याजको लागि उर्दी लगाइरहेको छ। बजारमा आर्थिक मन्दी छ। तर हामी आफ्नै सामान उधारो दिएर प्रताडित छौं। कसलाई सुनाउनु यो दुःख? मर्नु न बाँच्नुको अवस्थामा छौँ।’
प्रमुख प्रशासकीय अधिकृत झासँग जिज्ञासा राख्यौँ। बजेट थिएन भने किन उधारो सामान किनियो, बजेट थियो भने किन भुक्तानी दिइएन? झाले जवाफमा भने, ‘ए त्यो त्यसै भनेको हो। त्यो पागल आइमाईको कुरा सुन्नुभएको हो? छैन छैन केही छैन बाँकी। सन्केको आइमाई हो। छैन त्यसको केही छैन।’
पैसा बक्यौता नभई एउटी महिलाले नगरपालिकामा गएर त्यसरी ताकेता गर्न सक्छिन् त हाकिमसाव भनेर दोस्रो प्रश्न तेर्स्याएपछि झाले स्विकारे, ‘पुरानो दुई/तीन लाख रुपैयाँ बाँकी छ। हामी तिर्दिन्छौँ।’
वास्तविकता पत्ता लगाउन नगर प्रमुख महेश चौधरीलाई सोध्यौँ। ‘मेयरसाव शिला चौधरीको बक्यौता किन नतिर्नुभएको?’, नगर प्रमुख चौधरीले भने, ‘त्यो बहुलाही आइमाई धेरै कराउँछ। धेरै बोल्छ।’ तर उनले २२ लाख रकम बक्यौता रहेको भने स्वीकारेका छन्।
मेयर चौधरीले भने, ‘म पनि नयाँ थिएँ। नियम कानुन थाहा थिएन। अर्डर गरेर उधारो सामान लगेर वडा वडामा झिलिमिली बनाइयो। तर खरिद ऐन र नियम अनुसार भुक्तानीको प्रकृया मिलाउन सकिएन। १० लाभन्दा थोरै भएको भए कोटेशन निकालेर भुक्तानी दिन मिल्थ्यो। बढी रकम छ। अब प्रकृया मिलाएर भुक्तानी दिने बाटो मिलाउँदैछौं।’
नगरपालिकाका उपप्रमुख रामचलितर महतोलाई सोध्यौँ, ‘के नगरपालिकाले चौधरी इलेट्रोनिक्सको रकम उधारो तिर्नु छ?’, उनले भने, ‘मलाई बोल्न बाध्य नपार्नुस्। म झुट बोल्न सक्दिनँ। सत्य नबताएर मौन रहनु, झुट बोले सरह होइन र भनेपछि उनले स्वीकार गरे, ‘धेरै ठूलो रकम तिर्नुछ। तर मेयर र हाकिम जानुन्।’
जनवरी १ दिउँसो १२ बजे शिला फेरि अधिकृत झाको कार्यकक्षमा पुगिन्। उनलाई नगदै एक लाख ९० हजार रकम अधिकृत झाले उपलब्ध गराए।
शिला भन्छिन्, ‘मलाई अनुरोध गरियो पत्रकारहरुलाई नभनिदिनु। बिस्तारै रकम जुटाएर तिर्छौँ,’ उनले भनिन्, ‘हामी त गलपासोमा फसेका छौँ। मेयर चौधरी पहिल्यैदेखिका छिमेकी र हितैषि थिए। उनको भनाइमा ४४ लाखको सामान उधारो दिए। आज यो हविगत भयो।’
लहान नगरपालिकामा अहिले चौधरी इलेक्ट्रोनिक्सको बक्यौता रकम र नगरपालिकाको अर्घेल्याई चर्चाको विषय भएको छ। कानुन मिचेर सामान उधारो खरिद गर्ने तर भुक्तानी माग्न जाँदा शिला चौधरीलाई उल्टो ‘पागल र बहुलाही’ भन्ने मेयर चौधरी र अधिकृत झाको सर्वत्र आलोचना भइरहेको छ।
नेपाली कांग्रेसका युवा नेता अजय चौधरी भन्छन्, ‘बजेट हुँदा पनि ४४ लाखको सामान खरिद गर्न ई–बिडिङ्ग अनिवार्य गर्नुपर्थ्याे। मौखिक रुपमा त्यो पनि एउटै पसलबाट बिना प्रतिस्पर्धा उधारोमा सामान खरिद गर्नु भ्रष्टाचार हो। २४ महिनादेखि भुक्तानी रोक्नु आर्थिक अपराध हो। यसमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानविन थाल्नुपर्छ,’ उनले भने, ‘लहान नगरपालिकामा कुशासन र भ्रष्टाचारले सीमा नाघेको छ। मिडियाका साथीहरुले बाहिर ल्याउन नसकेका मात्र हुन्।’
नेपाली कांग्रेसकै अर्का युवा नेता संतोष चौधरी भन्छन्, ‘यो त अचम्मै हो। कस्तो कच्चा काम। नेपाल सरकारको खरिद प्रणाली छ, ऐन कानुन छ। यसरी बिना प्रतिस्पर्धा सामान खरिद गर्नै मिल्दैन। २४ महिना अघि किनेको सामानको अहिले ई–बिडिङ्ग गर्न मिल्दैन। जसको सामान लिइएको छ, उसले त भुक्तानी पाउनैपर्छ। अब मेयर जानुन्।’ (नेपाल न्यूज बैंक)