‘सबै भ्रष्टाचारका फाइल खोल्ने हाेइन, चर्चामा रहेका फाइलहरुलाई पहिला टुङ्ग्याउनुपर्छ’

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सबै भ्रष्टाचारका फाइलहरु खोल्ने भन्दा पनि चर्चामा रहेका फाइलहरुलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।

नेता केसीले सुशासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन कायम नहुने बताए। वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उनको भनाई छ।

उनले भने, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो। जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन, तबसम्म सुशासन कायम हुँदैन। त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ।’

उनले सत्ताभन्दा बाहिर जाँदा सबै भन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताए।

‘हामीले धेरै ब्लेम गेमहरु गर्यौं। एकले अर्कोलाई दोष लगाउने। अर्कोले अर्कोलाई दोष लगाउने। जब सत्ताभन्दा बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भएपनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ। त्यसलाई एउटा निश्चित मापदण्ड बनाउँ भ्रष्टाचार नियन्त्रणको लागि’, नेता केसीले भने। 

प्रकाशित मिति: : 2025-01-03 12:53:00

प्रतिकृया दिनुहोस्