राेल्पा र बझाङमा छुट्टा–छुट्टै गाडी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन्।
राेल्पामा बिहीबार राति साढे ९ बजे सुनछहरी गाउँपालिका-६ रूइनिवाङबाट फगाम जाँदै गरेको लु १ज ४८८९ नम्बरको बोलेरो जीप दुर्घटना भएकाे थियाे।
जीप दुर्घटनामा फगामकी ५७ की गौरा रोका मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जानकारी दिएकाे छ।
साेही जीप दुर्घटनामा ३ जना घाइते भएका छन्। घाइते हुनेमा सहचालक सुनछहरी-६ धुम्सिका ३५ वर्षीय तिलबहादुर घर्ती, धुम्सीकै २५ वर्षीय प्रेम रोका मगर, सुनछहरी-७ पोर्वाङका ४३ वर्षीय टेकबहादुर बुढा मगर रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते सहचालक तिलबहादुरकाे अहिले लुम्बिनी सिटी अस्पताल बुटवल उपचार भइरहेकाे छ।
अन्य २ जना स्थानीय अस्पतालमा उपचाररत रहेका छन्। जीप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर खसेकाे थियाे।
यस्तै बझाङका बिहीबार राती नै भएकाे दुई छुट्टा–छुट्टै जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित ४ जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
सुकगाडमा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र ५ वर्षीया आकृती धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएकाे छ।
बिहीबार राति सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जीप बझाङको कोटदेवलमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको मृत्यु भएको छ।
जीपमा उनी एक्लै रहेकाे प्रहरीले बताएकाे छ।