संगठन निर्माणकाे अभियानमा उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन्।

पुस १५ गतेदेखि पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ।

अध्यक्ष यादवले मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन्।

जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ।

अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

अध्यक्ष यादवले सोमबार नवलपरासी जिल्ला समितिद्वारा संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए। 

प्रकाशित मिति: : 2024-12-31 10:57:00

प्रतिकृया दिनुहोस्